स्वकीय सचिव नियुक्तिप्रति सुमना श्रेष्ठको प्रश्न : “अरूले गरे नातावाद, आफूले गरे योगदानको कदर ?”

काठमाडौँ, २ चैत । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीद्वारा आफ्ना स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखमा नियुक्त गरिएको विषयमा प्रश्न उठाउनुभएको छ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै श्रेष्ठले उक्त नियुक्ति प्रक्रियामाथि गम्भीर शंका व्यक्त गर्नुभएको हो। उहाँले यस्तो निर्णय कसको पहलमा भएको हो भन्ने प्रश्न गर्दै निर्णय प्रक्रियाको पारदर्शितामाथि जिज्ञासा राख्नुभएको छ।

श्रेष्ठले लेख्नुभएको छ, “यो निर्णय साँच्चै कसको हो—निर्णय गर्नेको कि गराइनेको? यसमा कुनै लेनदेन छ कि छैन? पारस्परिक सम्बन्ध के छ?”

उहाँले अप्रत्यक्ष रूपमा सत्तामा रहेका व्यक्तिहरूले आफ्ना नजिकका व्यक्तिलाई महत्वपूर्ण पदमा नियुक्त गर्ने प्रवृत्तिप्रति आलोचना गर्नुभएको छ। “अरूले गरे नातावाद, कृपावाद वा ‘नेपोबेबी’ भन्ने, आफूले गरे ‘योगदानको कदर’ भन्ने शैली किन दोहोरिन्छ?” भन्ने आशयको टिप्पणी पनि श्रेष्ठले गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले आफ्ना स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखमा नियुक्त गरेपछि सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा यस विषयमा बहस सुरु भएको छ। विपक्षी दलका नेताहरू र केही विश्लेषकहरूले पनि नियुक्तिको प्रक्रिया र मापदण्डबारे स्पष्टता माग गरेका छन्।

सरकारका तर्फबाट भने उक्त नियुक्तिबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार  ११ : ३०  बजे