ओलीलाई समवेदना दिन गुण्डु पुग्नुभयो प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं, १ चैत। प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गर्न भक्तपुरको गुण्डुस्थित निवास पुग्नुभएको छ।

फागुन २९ गते ओलीका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएपछि प्रधानमन्त्री कार्की श्रीमान्सहित ओली निवास पुगेर शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको हो।

उहाँले स्वर्गीय मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको जनाइएको छ।

यसअघि ओलीलाई समवेदना दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुण्डुस्थित निवास पुग्नुभएको थियो।

ओलीका बुवा मोहनप्रसाद ओलीको फागुन २९ गते ९७ वर्षको उमेरमा निधन भएको हो। उहाँको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले समवेदना व्यक्त गरिरहेका छन्।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार  १३ : ५५  बजे