वर्षा र पहिरोले मुख्य सडक ठप्प, हवाइ सेवा पनि प्रभावित

काठमाडौं, १९ असोज । निरन्तरको वर्षा र पहिरोले काठमाण्डौ उपत्यका जोड्ने र अरू मुख्य सडक बन्द भएको छ । दशैँ मनाउन घर पुगेकाहरू बीच बाटोमै अलपत्र परेका छन् । सरकारले आज र भोलि सार्वजनिक बिदा दिएकाले समयमै कर्मथलो पुग्नुपर्ने बाध्यतामा रहेकाहरुलाई चिन्ता कम भएको छ । तर अत्यावश्यक कामको लागि हिँडडूल गर्नुपर्नेहरुलाई सास्ती भएको छ ।

वर्षा र बाढी बढ्न थालेपछि सरकारले हिजोदेखि नै काठमाण्डौ उपत्यका प्रवेश गर्ने र लामो दूरीमा चल्ने गाडी सञ्चालनमा रोक लगाएको हो । भोलिसम्म अत्यावश्यक बाहेक अरू गाडी सञ्चालन गर्न रोक लगाइएको हो । बीपी राजमार्गमा पर्ने रोशी खोलामा गएको वर्ष असोजमा आएको बाढीपछि बनाइएका डाइभर्सनहरू धेरैजसो बगाएको छ । राजमार्गका ठाउँ–ठाउँमा कटान भएको छ ।

यसैगरी फर्पिङ–सस्नेरी अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोलामाथिबाट पहिरो खसेकाले आवागमन बन्द भएको छ । बीपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला र बुलढुङ्गामा खसेको पहिरोका कारण सडक अवरुद्ध छ । यस्तै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोमा सडक भासिएको र धुलिखेल खावामा पहिरोका कारण आवतजावत पूर्ण रूपमा बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ ।

यसैगरी, नारायणगढ–मुग्लिन सडकखण्ड र नागढुंगा–मुग्लिन सडकखण्डमा पनि पहिरोका कारण आवतजावत प्रभावित भएको छ । राजमार्गमा अलपत्र परेका यात्रु र गाडीलाई सकेसम्म चाँडो सुरक्षित ठाउँमा लैजाने व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ । बीच बाटोमै अलपत्र परेका यात्रुहरुलाई विभिन्न ठाउँमा होटल तथा खानाको प्रबन्ध पनि गरिएको छ ।

काभ्रेको धुलिखेल, चितवनका विभिन्न होटल, कोशी राजमार्गका होटललगायतका ठाउँमा व्यवसायीहरूले खाना तथा बासको व्यवस्था मिलाएका हुन् । यस्तै अविरल वर्षाका कारण हवाइ उडान पनि प्रभावित भएका छन् । आन्तरिक उडान पूर्ण रुपमा ठप्प भएका छन् । केही अन्तर्राष्ट्रिय उडानहरू पनि डाइभर्ट भएका छन् ।

 

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार  ०७ : ११  बजे