काठमाडौं, १९ असोज । लगातारको ठूलो वर्षाका कारण पूर्वी र मध्य भेगका विभिन्न नदी खोलाहरुमा बाढी आएको छ । ३५ वटाभन्दा बढी वर्षामापन केन्द्रमा नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती नदीको ललितपुर र रौतहट, कोशी नदीको धनकुटा र सिन्धुली, कन्काइ नदीको इलाम, मेची नदीको झापामा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ ।
यस्तै मकवानपुरको लालबकैया, काभ्रेपलाञ्चोकको सुनकोशी र रोशीखोला, सोलुखुम्बुको सोलुखोला, खोटाङको दुधकोशी, पाँचथरको तमोर, सुनसरीको सप्तकोशी, मोरङको बुढीखोला र लोहोन्द्रा खोला, इलामको माइखोला र पुवाखोलामा पनि पानीको बहाव सतर्कता तहभन्दा माथि पुगेको छ ।
लगातार पानी परिरहेका ठाउँका नदी खोलामा बाढी आएपछि आसपासका बस्ती डुबानमा परेका छन् । पानी परिरहेका ठाउँमा अझै बाढी थपिन सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।








प्रतिक्रिया