काठमाडौं महानगरको करखुसी खोलाको छेउमा सडक भासियो, जोखिममा घर

काठमाडौं, १८ असोज । महानगरपालिका–१४ स्थित कोहिनुर हाउजिङ नजिकै सडक भासिएको छ। आज बिहान करिब ९ बजे करखुसी खोलाको किनारमा पहिरो जाँदा सडक भासिएको हो, जसका कारण सडक छेउका घरहरू उच्च जोखिममा परेका छन्। घटनालगत्तै काठमाडौं महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको टोली घटनास्थलमा खटिएको छ। महानगरपालिकाका अनुसार, थप क्षति हुन नदिन र नदी कटान रोक्न बालुवा भरिएका बोरा र ग्राभेलको प्रयोग गरी अस्थायी तटबन्ध निर्माण गर्ने प्रयास भइरहेको छ। महानगरका प्रतिनिधिहरूले अन्य सम्भावित जोखिमयुक्त स्थानहरूको पनि निरीक्षण गरिरहेका छन्।
महानगरपालिकाले निरन्तरको वर्षाले अन्य बस्तीमा पनि डुबानको समस्या निम्तिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। कुनै बस्तीमा डुबान भएमा पीडितहरूलाई तत्काल उद्धार गरी नजिकैका सुरक्षित विद्यालयहरूमा सार्ने तयारी गरिएको महानगरले जनाएको छ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार  ११ : ०१  बजे