काठमाडौँ, १२ असोज । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वान्जाओमा सिधा उडान सुरु गरेको छ । निगमले शनिबार ९असोज ११०देखि काठमाडौं–ग्वान्जाओ–काठमाडौं नियमित उडान सञ्चालन गरेको हो ।
निगमले चीनको ग्वान्जाओमा असोज ९ गतेदेखि उडान सञ्चालन गर्ने योजना बनाएको थियो । तर, केही प्राविधिक कमजोरीका कारण निगमको उद्घाटन उडान शनिबार दिउँसो मात्र भयो ।
ग्वान्जाओको उद्घाटन उडानमा सहभागी विभिन्न क्षेत्रका व्यक्ति तथा केही संख्याका यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगिसकेको अवस्थामा यसअघि उडान रद्द भएको थियो । विमानस्थल पुगेका यात्रुलाई निगमले व्यवस्थापन गरेको थियो ।
निगमका प्रवक्ता मनोजकुमार साहका अनुसार, काठमाडौंबाट शनिबार दिउँसो ग्वान्जाओ उडेको विमान यहाँबाट १०७ सात यात्रु लिएर आइतबार काठमाडौं फर्किएको छ । पूर्वनिर्धारित तालिकाबमोजिम नै ग्वान्जाओमा नियमित उडान हुनेछ ।
निगमले हरेक हप्ता तीन नियमित उडान गर्ने तालिका तय गरेको छ । पहिलो उडान असोज १२ गते हुनेछ । त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते हुने उडान पनि तय गरिएको छ । त्यसपश्चात् प्रत्येक आइतबार, मंगलबार र शनिबार ग्वान्जाओतर्फ सिधा उडान हुनेछ ।
काठमाडौंबाट ग्वान्जाओसम्मको एकतर्फी भाडादर ३० हजार र दोहोरो टिकट ५० हजार रुपैयाँ तोकिएको निगमले जनाएको छ ।
काठमाडौं–ग्वान्जाओ गन्तव्यमा हाल चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान गरिरहेको छ । नेपालबाट भने हिमालय एयरलाइन्सले यो रुटमा नियमित उडान भर्दै आएको छ । नेपालीको बाहुल्यता रहेको ग्वान्जाओ उडानले निगमलाई आर्थिक रूपमा लाभ हुन सक्ने अनुमान गरिएको छ ।
ग्वान्जाओसँगै अब नौ देशका ११ गन्तव्यमा निगमको नियमित उडान हुने भएको छ । हाल निगमसँग रहेका दुई न्यारोबडी र दुई वाइडबडी विमानमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुबई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैंगलुरु, थाइल्यान्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान भइरहेको निगमले जनाएको छ ।








प्रतिक्रिया