सुर्खेतमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

काठमाडौँ, १२ असोज ।  सुर्खेतमा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२–००१ ख ११२९ नम्बरको इलेक्ट्रिक माइक्रोबस वीरेन्द्रनगर–११ ठूलो ब्युरेनिनजिकै दुर्घटना भएको छ । गाडी अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
आइतबार बिहान भएको दुर्घटनामा घाइते हुनेमा गाडी चालक सुर्खेत बराहताल–४ का ३८ वर्षीय हरी मल्ल रहेका छन् । उनको कम्मरमा चोट लागेर अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी, जुम्लाको चन्दननाथ नगरपालिका–१ का १८ वर्षीय दीपेन्द्र दमाई, जुम्लाको सिंजा गाउँपालिका–५ का बर्ष २८ वर्षीय महेन्द्र शाही, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का ३८ वर्षीय लालबहादुर शाही, २७ वर्षीय लक्ष्मी कठायत, वीरेन्द्रनगर–११ का ३८ वर्षीय नरेश शाही घाइते भएका छन् ।

सुर्खेतको लेकबेशी नगरपालिका–६ का ३५ वर्षीय पर्शुराम घर्ती मगर, दैलेखको दुल्लु नगरपालिका–६ का २३ वर्षीय शम्सेर खड्का, दुल्लु नगरपालिका–११ का ३० वर्षीय लक्ष्मण कार्की, जुम्लाको सिंजा गाउँपालिका–३ का २४ वर्षीया राज्य लक्ष्मी हमाल, दैलेखको दुल्लु नगरपालिका(१० का २६ वर्षीय गणेश योगी उक्त दुर्घटनामा घाइते भएका प्रहरीले जनाएको छ ।

यस्तै, कालिकोटको पचाल झरना गाउँपालिका(३ बस्ने २२ वर्षीय रोशन बिक, जुम्लाको सिंजा गाउँपालिका–४ का २२ वर्षीय ऐन रोकाया, सिंजा–१ का १६ वर्षीया रक्षा धिताल, सिंजा–५ का २२ वर्षीया विष्णु शाही, मुगुको सोरु गाउँपालिका–९ बस्ने ३२ वर्षीय दिनेश शाही र जुम्लाको चन्दननाथ गाउँपालिका–१ का २१ वर्षीय श्री परियार रहेका छन् ।

दुर्घटनामा परेकामध्ये अधिकांशलाई सामान्य चोटपटक लागेको र उनीहरूको सुर्खेतस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार  ०७ : २५  बजे