महाराजगन्जमा असईको बीभत्स हत्यामा संलग्न आरोपी पक्राउ

काठमाडौं, ७ असोज । जेनजी प्रदर्शनमा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मिलन रायको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ओम पौडेल छन् ।

भदौ २४ मा महाराजगन्जमा असई मिलन रायलाई छटपटाइरहेको अवस्थामा उनले अनुहारमा मुङ्ग्रोले हिर्काएर बीभत्स तरिकाले हत्या गरेको भिडियोमा देखिन्छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पौडेललाई धापासीबाट पक्राउ गरेको हो ।

जेनजी प्रदर्शनको क्रममा उद्दण्ड समूहले प्रहरी वृत्त महाराजगन्जमा आगजनी गरेर दुईजना प्रहरीको हत्या गरेका थिए । मृत्यु हुनेमा असई राय र जवान उत्तम थापा छन् ।

असोज ४ मा प्रहरीको हत्या आरोपमा काभ्रे घर भएका युवराज क्यापछाकी पक्राउ परेका थिए । प्रहरी हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेहरूको सङ्ख्या २ पुगेको छ । क्यापछाकीलाई अनुसन्धान गर्न अदालतले प्रहरीलाई १० दिनको म्याद दिएको छ ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार  १५ : ०४  बजे