काठमाडौँ, ७ असोज । दिल्लीस्थित नेपाली दूतावासमा रहेको आवासीय सुविधा तथा अति विशिष्ट आतिथ्य सेवामा तत्कालका लागि रोक लगाइएको छ । स्वास्थ्य उपचारका लागि दिल्लीमा रहेका पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत दूतावासको आवासीय सुविधा प्रयोग गर्न पाएनन् ।
डा. यादव हाल दिल्लीको छतरपुरस्थित जैन मन्दिर धर्मशालामा बसेर अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा स्वास्थ्य जाँच गराइरहेका छन् । परराष्ट्र स्रोतका अनुसार, पछिल्लो समय नेपालमा देखिएको राजनीतिक परिवर्तन र जेनजी आन्दोलनपछि विदेशस्थित कूटनीतिक नियोगहरूमा पनि सुरक्षा संवेदनशीलता बढेको छ । यसकारण कूटनीतिक बाहेकका अन्य सेवा–सत्कारमा ‘विशेष परिस्थितिबाहेक’ रोक लगाइएको हो ।
पूर्वराष्ट्रपति यादव स्वास्थ्य परीक्षणका क्रममा गत शनिबार दिल्ली पुगेका थिए । आफू दिल्ली आउन लागेकोबारे उनले एक महिनाअघि राजदूत डा. शंकर शर्मालाई जानकारी गराएका थिए । तर, गत साता दिल्ली पुगेपछि उनलाई दूतावासमा बस्न नमिल्ने अवस्थाबारे जानकारी गराइएको थियो ।
यस्तै, जेनजी आन्दोलनका क्रममा आफ्नै घरमा दुर्घटनामा परेकी श्रीमती रविलक्ष्मी चित्रकारलाई लिएर सोमबार राति दिल्ली पुगेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि दूतावास बाहिरै बसेका छन् । आगलागीमा परेर सख्त घाइते भएकी चित्रकारको फोक्सोमा निमोनियाको संक्रमण बढेपछि उनलाई दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका लागि लगिएको छ ।
“अहिले सरकारी र कूटनीतिक कर्मचारीसमेत सुरक्षाको कडा घेरामा छन्, स्थिति विगतजस्तो सहज छैन,” दूतावासका एक अधिकारीले भने, “दूतावासमा बस्न आउने र त्यसमाथि लामो समय स्वास्थ्य उपचारमा बिताउने अतिथिको सेवा, सत्कार र सुरक्षामा कूटनीतिक नियोगले ध्यान दिन नसक्ने भन्दै तत्कालका लागि यहाँ बसोबासको सुविधा दिन नसकिएको हो ।”
दिल्लीस्थित नेपाली दूतावासमा सधैँ उच्च पदस्थ कर्मचारी, राजनीतिक नेता, मन्त्री र सत्तानिकट व्यक्तिहरूको बाक्लो आवतजावत हुने गरेको र विशेषतः स्वास्थ्य उपचारका लागि आवासीय सुविधा लिने गरेकोमा चर्को गुनासो रहँदै आएको थियो । नेपालमा सत्ता समीकरणमा फेरबदल भएपछि दूतावासको सेवा–सत्कार नपाउने पहिलो विशिष्ट व्यक्तिमा पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्री परेका छन् ।








प्रतिक्रिया