काठमाडौँ, ७ भदौ । जेनजी प्रदर्शनमा कालिमाटीस्थित प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर–१३ घर भएका सचिन खडका उर्फ गोल्डेन छन् ।३८ वर्षीय खडकाले भदौ २४ मा भएको प्रदर्शनको क्रममा प्रहरी वृत्त कालिमाटीमा आगजनी गर्ने समूहको नेतृत्व गरेको आरोप छ । प्रदर्शनको समयमा आगजनी गरेपछि उनी थ्रिनट थ्री राइफल, खुँडा र खुकुरीसहित कालिमाटी प्रहरी वृत्त अघिल्तिर खुसी मनाइरहेको भिडियो सामाजिक सञ्जालमा भेटिन्छ । खडका आफ्नो घर रहेको काठमाडौँ– १३ को वडा कार्यालय पनि आगजनी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । सोल्टिमोडस्थित वडा कार्यालय आगजनी गर्ने समूहको नेतृत्व पनि उनले नै गरेको आरोपमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
उनीविरुद्ध आपराधिक उपद्रव गर्न नहुने कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताउनुभयो । आगजनी र लुटमा संलग्न आरोपीहरूलाई पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरी वृत्त कमलपोखरीभन्दा बाहेकका मुद्दा चल्ने युनिटहरूमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । आगजनीका कारण काठमाडौँ प्रहरीका युनिटहरूमा थुनुवा राख्ने र कार्यालय सञ्चालन गर्ने अवस्था छैन ।
9
Shares








प्रतिक्रिया