दुई दिनमा ६५६ कैदीबन्दी कारागार फर्काइए, सात हजार ५७२ फरार

काठमाडौं, ७ असोज । जेनजी प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ। कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन्। पछिल्लो दुई दिनमा छ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो। कैदीबन्दीहरू दैनिकजसो कारागारमा आइरहेका उहाँको भनाइ छ।गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी हुन थालेपछि कैदीबन्दी भागेका थिए। भागेका कैदीबन्दीको कुल सङ्ख्या १४ हजार ५५६ रहेको छ भने १५ हजार ५२५ कैदीबन्दी भने नभागी बसेका थिए।फरार रहेकाहरूको खोजी जारी रहेको विभागले जनाएको छ। ती कैदीबन्दीहरू २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका थिए। कतिपयलाई प्रहरीले पक्राउ गरेर ल्याएको छ भने अधिकांश आफैँ आएका हुन्।बालसुधार गृहबाट नौ सय ६३ जना भागेका थिए। प्रहरीले हिरासतमा रहेका दुई हजार आरोपीसमेत फरार रहेका र खोजी जारी रहेको जानकारी दिएको छ। दश जना कैदीबन्दीको भने मृत्यु भएको छ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार  ०८ : ५०  बजे