काठमाडौं, ५ असोज । राष्ट्रिय मानव अधिकार आयोगले समाजका विभिन्न क्षेत्र, व्यक्ति, समूह र राजनीतिक दलका नेताहरूबाट आएका घृणाजन्य अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै आयोगले यस्ता अभिव्यक्ति तत्काल बन्द गर्न पनि आग्रह गरेको छ ।
आयोगले आज विज्ञप्ति निकालेर जेन–जी आन्दोलनपछि नयाँ सरकार बनेको र चुनावको घोषणा भएको अवस्थामा घृणाजन्य अभिव्यक्ति सार्वजनिक भइरहनु चिन्ताजनक रहेको उल्लेख गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा विचार तथा अभिव्यक्ति स्वतन्त्रता नागरिकको आधारभूत अधिकार भए पनि यसलाई संयमित, मर्यादित र मानव अधिकारको मूल्य–मान्यताको परिधिभित्र रहेर प्रयोग गर्नुपर्ने उल्लेख छ । सम्बद्ध सबै पक्षलाई आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकारको सम्मान गर्न र वर्तमान राजनीतिक परिस्थितिमा संयमित भई उचित समाधान खोज्न आयोगले आह्वान गरेको छ ।
आयोगले अन्तर्राष्ट्रिय मानव अधिकार कानून, नेपालको संविधान तथा मुलुकी अपराध संहितामा समेत अरूको मर्यादामा ठेस पुग्ने, गाली वा बेइज्जती गर्ने कार्यलाई दण्डनीय बनाइएको प्रावधानको स्मरण गराएको छ ।








प्रतिक्रिया