भादगाउँ (भक्तपुर), ५ असोज । भक्तपुरको पवित्र तीर्थस्थल हनुमानघाटमा आज स्रोहश्राद्ध गर्नेको घुइँचो लागेको छ । आश्विन कृष्णपक्ष सुरु भएसँगै १६ दिनसम्म दिवङ्गत भएका आफन्तको नाममा पिण्डदान गरिएसँगै श्राद्धको आज अन्तिम पितृपक्षका दिन पिण्डदान गर्नेको घुइँचो लागेको हो । हनुमानघाट क्षेत्रमा पितृको सम्झनामा पिण्डदान गरेमा दिवङ्गतको आत्माले मोक्ष प्राप्ति गर्ने धार्मिक विश्वाससहित भक्तपुरका साथै आसपासका नागरिक हनुमानघाट क्षेत्रमा स्रोह्रश्राद्ध गर्न आउने गरेका पुरोहित धनेशराज राजोपाध्ययले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पितृपक्षमा गरिने स्रोह्रश्राद्धमा हनुमानघाट क्षेत्रका साथै हनुमन्ते नदीसहित मुलुकभरका विभिन्न नदी तथा घाटमा गएर पिण्डदान गरी सेलाउने गरिन्छ ।
यसो गर्नाले आफ्नो पूर्वज दिवङ्गतले मात्र नभएर दुरदराजका आफन्त र छरछिमेकका दिवङ्गत आत्मालाई पनि मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।” पुरोहित राजोपाध्ययका अनुसार नेवार समुदायमा सोह्रश्राद्ध गर्नुको छुट्टै महत्त्व छ । यो श्राद्ध नगरे कुलदेवताको पूजा गरी भोजन गर्नु हुँदैन भन्ने धार्मिक मान्यता नेवार समुदायमा रहेको उहाँले बताउनुभयो । वर्ष दिनमा गरिने कुनै पनि शुभकार्यको थालनीका लागि पनि यो श्राद्ध गरिन्छ । त्रिवेणी घाटका रूपमा हनुमानघाटलाई लिने गरिन्छ । आजको दिन यहाँ स्नान गरी स्रोह्रश्राद्ध गर्नाले पाप नष्ट हुनुका साथै दिवङ्गतले सजिलै वैकुण्ठ बास पाउँछ भन्ने धार्मिक विश्वास रहेको पुरोहित राजोपाध्ययले जानकारी दिनुभयो ।








प्रतिक्रिया