काठमाडौं, १ कात्तिक बडादसैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। गोँगबुस्थित नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न बसपार्क र बाहिरिने नाकामा यात्रुको भीड बढेको हो।
अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिस दसैं मनाउन गाउँ फर्किन थालेपछि यात्रुको चाप बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नयाँ बसपार्क, माछापोखरी, कलंकी, बल्खु, कोटेश्वर र गौशालालगायत क्षेत्रमा यात्रुको चाप बढेको छ। ट्राफिक प्रहरीले यातायात आवागमन सहज बनाउन आवश्यक व्यवस्थापन गरिरहेको उहाँले बताउनुभयो।
कार्यालयका अनुसार घटस्थापनादेखि असोज ३० गतेसम्म चार लाख २३ हजार ६६४ यात्रुले काठमाडौं उपत्यका छाडेका छन्।
असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९, असोज २९ गते ८५ हजार ५६१ र असोज ३० गते ७५ हजार ३५० यात्रु उपत्यकाबाट बाहिरिएका हुन्।
दसैं मनाउन यात्रु फर्पिङ, नागढुंगा, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाकाबाट बाहिरिने गरेका छन्। यात्रुको चाप बढेसँगै यातायात व्यवसायीले बस व्यवस्थापनलाई तीव्रता दिएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकका कारण केही समस्या भए पनि सम्बन्धित निकायसँग समन्वय गरेर बस व्यवस्थापन गरिरहेको बताउनुभयो।
महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।











प्रतिक्रिया