सिन्धुली, १ कात्तिक । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा गाडी दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। दुर्घटनामा थप तीन जना बेपत्ता भएको जनाइएको छ।
आइतबार बिहान करिब २:३० बजे को.१ ज २९७६ नम्बरको गाडी सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार घटनास्थलमा तीन महिलाको शव फेला परेको छ। उनीहरूको पहिचान खुल्न सकेको छैन।
दुर्घटनामा ओखलढुंगाका २९ वर्षीय चालक आशिष विष्ट, खोटाङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी र १३ वर्षीय अंकित विक घाइते भएका छन्। घाइतेमध्ये सम्झना राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
उद्धार गरिएका घाइतेहरूको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा उपचार भइरहेको छ। चालकको भनाइअनुसार दुर्घटनापछि थप तीन जना बेपत्ता छन्।
इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी टोलीले बेपत्ताको खोजी तथा उद्धार कार्य जारी राखेको छ।











प्रतिक्रिया