काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागू, ड्रोनदेखि कुकुरसम्म परिचालन

काठमाडौं, १६ असोज । जिल्ला प्रहरी परिसर काठमाडौंले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना–२०८३ लागू गरेको छ ।

परिसरको कार्यालय भद्रकालीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले चाडपर्वलक्षित विशेष सुरक्षा योजना आजैदेखि लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षा योजना करिब डेढ महिनासम्म अर्थात् आगामी ३० कात्तिकसम्म सञ्चालन हुनेछ ।

चाडपर्वका समयमा हुनसक्ने अपराधजन्य गतिविधिको रोकथाम तथा न्यूनीकरण र नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले विशेष सुरक्षा योजना लागू गरिएको परिसरले जनाएको छ ।

दसैं, तिहार तथा छठका समयमा पटका तथा अतिसबाजी, आगलागी, मदिरा सेवनपछि हुने सवारी दुर्घटना, नक्कली टिकट बिक्री, यात्रु ठगी, चोरी, पाकेटमारी, जुवातास तथा लंगुरबुर्जा खेल्ने–खेलाउनेजस्ता गतिविधिको जोखिम रहने प्रहरीले जनाएको छ ।

त्यस्तै पेय पदार्थमा नसालु पदार्थ मिसाउने, नक्कली नोटको कारोबार, हत्या लगायतका आपराधिक घटना हुनसक्ने जोखिमलाई समेत ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा बनाइएको परिसरका प्रहरी उपरीक्षक तथा प्रवक्ता दानबहादुर थापाले बताउनुभयो ।

३ हजार ५०६ प्रहरी परिचालन

चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि काठमाडौं प्रहरीले ३ हजार ५०६ जना प्रहरी परिचालन गर्ने भएको छ । सादा पोशाक तथा पोशाकमा खटिने प्रहरीसहित उक्त संख्यामा जनशक्ति परिचालन गरिनेछ । त्यस्तै तालुक कार्यालयबाट थप १९० जना प्रहरीसमेत परिचालन हुने बताइएको छ ।

विशेषगरी संवेदनशील तथा जोखिमयुक्त क्षेत्र, मठमन्दिर तथा धार्मिकस्थल, न्युरोड, असनजस्ता व्यापारिक तथा भीडभाड हुने क्षेत्र, यातायातका टिकट काउन्टर, बजार क्षेत्र तथा बैंक तथा वित्तीय संस्थाका आसपासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिनेछ ।

ड्रोन र तालिमप्राप्त कुकुरबाट निगरानी

चाडपर्वलक्षित सुरक्षा योजनाअन्तर्गत प्रविधि र तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिने भएको छ । प्रहरीले विभिन्न नाकामा तालिमप्राप्त कुकुर परिचालन गरी ‘स्निफिङ’ गर्ने व्यवस्था मिलाएको छ । विशेषगरी विस्फोटक पदार्थ पहिचान गर्न त्यस्ता कुकुरको प्रयोग गरिनेछ ।

त्यस्तै काठमाडौंका विभिन्न क्षेत्रमा ड्रोनबाट समेत निगरानी गरिनेछ । यसका लागि तीनवटा ड्रोन परिसर काठमाडौंमा आइसकेको प्रहरीले जनाएको छ । ‘ड्रोनदेखि कुकुरसम्म परिचालन गरेर काठमाडौंलाई सुरक्षित बनाउने हाम्रो प्रयास हुनेछ,’ पत्रकार सम्मेलनमा एसएसपी घिमिरेले भन्नुभयो ।

त्यसैगरी काठमाडौंका विभिन्न स्थानमा जडान गरिएका १ हजार २४२ वटा सीसीटीभी क्यामेराबाट समेत निरन्तर निगरानी गरिनेछ । सामाजिक सञ्जालको निगरानीलाई पनि प्रभावकारी बनाइने प्रहरीले जनाएको छ । काठमाडौंका १० स्थानमा अत्यावश्यक सुरक्षा सूचना तथा जानकारी प्रवाह गर्न सार्वजनिक उद्घोषणा प्रणाली (पब्लिक अनाउन्समेन्ट सिस्टम) समेत सञ्चालनमा ल्याइनेछ ।

पीपीआई मोडलमा सुरक्षा योजना

चाडपर्वलक्षित विशेष सुरक्षा योजनामा काठमाडौं प्रहरीले पीपीआई मोडल लागू गरेको जनाएको छ । यसमा प्रोमोशनल, प्रिभेन्टिभ, इन्फोर्समेन्ट र इनोभेसनलाई आधार बनाइएको छ । प्रोमोशनल अन्तर्गत सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा समुदायमार्फत सुरक्षा सन्देश प्रवाह गरी नागरिकमा सचेतना अभिवृद्धि गरिनेछ ।

प्रिभेन्टिभ अन्तर्गत सम्भावित अपराध तथा जोखिम पहिचान गरी अग्रिम तयारी गरिनेछ । यसअन्तर्गत गस्ती, निगरानी, चेकजाँच तथा संवेदनशील स्थानमा प्रहरीको उपस्थिति बढाएर अपराध हुन नदिन आवश्यक उपाय अवलम्बन गरिनेछ ।

इन्फोर्समेन्ट अन्तर्गत कानुनविपरीत गतिविधिमा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिनेछ । त्यस्तै इनोभेसन अन्तर्गत प्रविधिको अधिकतम प्रयोग गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाइने प्रहरीले जनाएको छ ।

मोबाइल गस्ती, क्यूआरटीदेखि स्ट्राइकिङसम्म

काठमाडौं प्रहरीले चाडपर्वका समयमा मोबाइल गस्ती, स्ट्राइकिङ, चेकिङलगायतका सुरक्षा गतिविधिलाई तीव्र बनाउने भएको छ । प्रहरीका अनुसार ९८ स्थानमा एरिया कभर गरिनेछ भने १६६ वटा मोबाइल गस्ती टोली परिचालन हुनेछन् ।

त्यस्तै ५०८ स्थानमा पिकेट राखिनेछ भने २१० वटा पैदल गस्ती टोली परिचालन गरिनेछ । मोटरसाइकलसहितका १५२ वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) र गाडीसहितका १४० वटा क्यूआरटी परिचालन हुनेछन् । यसैगरी १४० स्थानमा कर्डन सर्च, ७० वटा सादा पोशाकका टोली परिचालन तथा १३३ स्थानमा चेकप्वाइन्ट स्थापना गरिनेछ ।

८० वटा मन्दिरमा विशेष सुरक्षा व्यवस्था मिलाइनेछ भने १४८ वटा टिकट काउन्टरमा समेत विशेष निगरानी गरिने प्रहरीले जनाएको छ । स्ट्राइकिङ, रिभर्स, सीआरभी, पैदल गस्ती तथा ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङमार्फत सुरक्षा व्यवस्था प्रभावकारी बनाइने परिसरले जनाएको छ ।

१२ स्थानमा नागरिक सहायता कक्ष

चाडपर्वका समयमा नागरिक तथा यात्रुलाई आवश्यक सहयोग र सुरक्षा सूचना उपलब्ध गराउन काठमाडौं प्रहरीले विभिन्न १२ स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने भएको छ । यसको सुरुवात शुक्रबार बालाजुबाट गरिएको प्रहरीले जनाएको छ ।

कलंकी, बल्खु, कोटेश्वर, जडीबुटी, गौशाला, चाबहिल चोक, गोंगबु बसपार्क, बिजी मल अगाडि, सीतापाइला, जोरपाटी, बालाजु बाइपास, बालाजु चोक तथा सुरुङमार्ग–नागढुंगा क्षेत्रलगायतका स्थानमा नागरिक तथा यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ ।

प्रहरीले चाडपर्वका समयमा हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रणसँगै यात्रु तथा सर्वसाधारणलाई सहज, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जनाएको छ ।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार  १८ : २७  बजे