काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनबारे निर्वाचन आयोगलाई पठाएको पत्र आयोगले अभिलेखमा राखेको छ।
देउवा समूहले वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको प्रस्तावित कार्यतालिकासहित बुधबार आयोगलाई पत्र पठाएको थियो। पत्रमा देउवाले आफू कांग्रेसको सभापति रहेको उल्लेख गर्दै महाधिवेशनसम्बन्धी गतिविधिबारे जानकारी गराउनुभएको थियो।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार राजनीतिक दलका गतिविधिसम्बन्धी पत्र प्राप्त भएपछि आयोगले प्रशासनिक प्रक्रियाअन्तर्गत दर्ता तथा अभिलेख गर्ने गर्छ। उहाँका अनुसार देउवा समूहको पत्र अभिलेखमा राख्नु पनि यही प्रशासनिक प्रक्रियाको निरन्तरता हो।
उहाँले पत्र अभिलेखमा राखिएको विषयलाई आयोगको कुनै नयाँ निर्णयका रूपमा बुझ्न नहुने बताउनुभयो। कांग्रेसको आधिकारिकतासम्बन्धी विषयमा यसअघि नै आयोगले निर्णय गरिसकेको र त्यससम्बन्धी विवाद सर्वोच्च अदालतबाट निरुपण भइसकेकाले तत्काल थप निर्णय गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ।











प्रतिक्रिया