१५ दिनदेखि धादिङको सडक सम्पर्क विच्छेद, सरकार अझै मौन : सांसद थपलिया

काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले बाढीका कारण धादिङको सडक सम्पर्क विच्छेद भएको १५ दिन बितिसक्दा पनि सरकारले समस्या समाधानका लागि ठोस पहल नगरेको भन्दै गम्भीर आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद थपलियाले बाढीले फुर्के खोलाको पक्की पुल बगाएपछि धादिङ सदरमुकाम र राजधानीबीचको सडक सम्पर्क प्रभावित बनेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले बाढी आएको १५ दिन बितिसक्दा पनि सरकारले समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो,‘बाढी आएको आज १५ दिन भइसक्यो। सभामुख महोदय आफैँले स्थलगत अनुगमन गर्नुभएको छ र समस्याबारे जानकार हुनुहुन्छ । तर, धादिङ सदरमुकाम र राजधानीसँगको सम्पर्क टुटेको विषयमा सरकार अझै मौन छ ।’

पुल नहुँदा खाद्यान्न, औषधि तथा इन्धनको आपूर्ति प्रभावित भएर नागरिकको जनजीवन कष्टकर बनेको उल्लेख गर्दै उहाँले तत्काल बेलिब्रिज निर्माण गरी यातायात सञ्चालनको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । सांसद थपलियाले विपद्को संवेदनशील समयमा सामाजिक सञ्जालमा पीडितको दुःख र पीडामाथि हुने अमानवीय टिप्पणीप्रति समेत गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।

बाढीपीडित परिवारले आफ्ना बेपत्ता सदस्यको खोजीका लागि आग्रह गर्दा समेत त्यसलाई मजाकको विषय बनाउने प्रवृत्ति बढेको भन्दै उहाँले यस्तो व्यवहारले समाजमा मानवीय संवेदना कमजोर हुँदै गएको देखाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्तो संवेदनशील समयमा अरूको पीडालाई मजाक नबनाऔँ। आज अरूमाथि परेको विपत्ति भोलि हामीमाथि पनि पर्न सक्छ ।’

यसैगरी, बजारमा ग्यासको चरम अभाव देखिएको र नागरिकहरू घण्टौँसम्म लामबद्ध हुनुपरेको विषयमा समेत सांसद थपलियाले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले उद्योगमन्त्रीको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै भन्नुभयो, ‘बजारमा ग्यासको हाहाकार छ, नागरिक लामबद्ध हुनुहुन्छ, तर उद्योगमन्त्रीज्यू यस विषयमा बेखबर हुनुहुन्छ । जनताको भान्सासम्म ग्यास सहज रूपमा पुर्‍याउने वातावरण कहिले बन्छ ?’

सांसद थपलियाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न सरकार तत्काल सक्रिय हुनुपर्ने माग गर्नुभयो ।

प्रकाशित मिति: २४ भदौ २०८३, बुधबार  १५ : १४  बजे