भोटेकोशी बाढीको ११औँ दिनमा दुई जनाको जीवितै उद्धार

काठमाडौं, २० भदौ । भोटेकोशी नदीमा बाढी आएको ११औँ दिनमा शनिबार दुई जनाको जीवितै उद्धार गरिएको छ। नुवाकोटको बेत्रावतीबाट एक महिला र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरिएको हो।

सशस्त्र प्रहरीको टोलीले विदुर नगरपालिका–१० बेत्रावतीस्थित चारतले घरको चौथो तलाबाट ६३ वर्षीया चण्डिका श्रेष्ठलाई जीवितै उद्धार गरेको हो। प्रहरी निरीक्षक सुमन विकको कमान्डमा खटिएको टोलीले उहाँलाई अर्धचेत अवस्थामा फेला पारेको थियो।

भदौ १० गतेको बाढीमा घरसहित बेपत्ता भएपछि परिवारले आठ दिनसम्म खोजी गरेको थियो। तर, कतै फेला नपरेपछि परिवारले कुशको शव बनाएर काजकिरिया सुरु गरिसकेको थियो। काजकिरिया चलिरहेकै बेला ११औँ दिनमा चण्डिका जीवितै भेटिएपछि परिवारमा खुसी फर्किएको छ।

उद्धारपछि प्रारम्भिक उपचारका लागि उहाँलाई नेपाली सेनाको मैबल ब्यारेक लगिएको थियो। अहिले छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उहाँको उपचार भइरहेको छ। चिकित्सकको निगरानीमा उपचार भइरहेकी चण्डिकाको दाहिने तिघ्रामा गहिरो चोट देखिएको र घुँडाको शल्यक्रिया गर्न लागिएको परिवारले जनाएको छ। उहाँलाई उच्च रक्तचाप, मधुमेह र मुटुसम्बन्धी समस्या रहेको तथा शरीरको तापक्रमसम्बन्धी समस्या देखिएको नेपाली सेनाले जनाएको छ।

यस्तै, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको ‘अडिट–४’ सुरुङबाट एक चिनियाँ नागरिकको पनि जीवितै उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाली विपद् विज्ञ टोलीले शनिबार दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

उद्धार गरिएका चिनियाँ नागरिकलाई पनि छाउनीस्थित नेपाली सेनाको अस्पतालमा ल्याइएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको छ। अस्पताल पुगेपछि चिनियाँ राजदूतावासको टोलीले समेत उहाँलाई भेटेको छ।

यसअघि बाढी आएको १०औँ दिनमा माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो।

भोटेकोशी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा ११औँ दिनसम्म पनि जीवित उद्धारको क्रम देखिएपछि बेपत्ता परिवारमा आशा थपिएको छ।

प्रकाशित मिति: २० भदौ २०८३, शनिबार  १७ : ५७  बजे