विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्याग्नुपर्छ : प्रमुख सचेतक महर

काठमाडौं, १७ भदौ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले बाढीपहिरोपछिको संकट व्यवस्थापनमा सरकारले प्रभावकारी नेतृत्व लिन नसकेको टिप्पणी गर्नुभएको छ ।

बुधबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै महरले राष्ट्रिय संकटको घडीमा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने सरकार अहंकार र दम्भमा देखिएको आरोप लगाउनुभएको हो ।

उहाँले राजनीतिभन्दा मानवता माथि हुने भन्दै एमाले संकटको सामना गर्न राष्ट्रिय एकता कायम गर्ने पक्षमा सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । उद्धार, राहत तथा बेपत्ताको खोजी कार्यमा सरकारको सुस्तताप्रति पनि उहाँले आपत्ति जनाउनुभयो ।

प्रमुख सचेतक महरले राजनीतिक दल, नागरिक समाज तथा तीनै तहका सरकारको सहयोग लिएर अघि बढ्न प्रधानमन्त्री चुकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले भदौ १० गतेकै सदनको बैठकमा सरकारले संकटको नेतृत्व गरोस् र देश एक ठाउँमा उभियोस् भन्ने धारणा राखेका थियौँ । तर, पछिल्लो एक हप्ताको घटनाक्रम हेर्दा सरकारले सबै शक्तिलाई प्रभावकारी रूपमा परिचालन गर्न सकेको देखिएन ।’

प्रधानमन्त्रीले ‘हिलोमा खोज्ने मेसिन संसारमा कतै पाइँदैन’ भन्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै महरले यस्तो तर्क तर्कसंगत नभएको बताउनुभयो ।

बाढी आउनुभन्दा आधा घण्टाअघि एसएमएस पठाइएको भन्ने सरकारी दाबी पनि विवादास्पद रहेको उहाँको भनाइ छ । सम्बन्धित निकायले बाढी आएको करिब ४५ मिनेटपछि मात्र सूचना संप्रेषण गरेको देखिएको भन्दै उहाँले यस्ता संवेदनशील विषयमा सामाजिक सञ्जालको स्टेटसमा मात्र नभई सरकारी संयन्त्रमार्फत आधिकारिक जानकारी दिनुपर्ने बताउनुभयो ।

मन्त्रीहरू आफैँ उद्धारस्थल र सुरुङमा पुगेर फोटो खिचाउन व्यस्त भएको भन्दै महरले असन्तुष्टि व्यक्त गर्नुभयो । मन्त्रीहरू स्वयं घटनास्थलमा पुग्नुभन्दा सम्बन्धित क्षेत्रका विज्ञ तथा प्राविधिकलाई परिचालन गरी वास्तविक उद्धार र खोजी कार्यलाई तीव्रता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महरले संकटको समयमा सरकारको नेतृत्वमा अहंकार र दम्भभन्दा सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि उठेर पीडितलाई राहत र न्याय दिन तथा बेपत्ताको खोजी कार्य प्रभावकारी बनाउन सरकारलाई पुनः आग्रह गर्नुभयो ।

प्रकाशित मिति: १७ भदौ २०८३, बुधबार  २० : ०५  बजे