देवीघाटमा बेलिब्रिज निर्माण भइरहेको प्रधानमन्त्रीको दाबी, स्थानीय नेतृको प्रश्न– ‘तुइनसमेत बनेन’

काठमाडौं, १७ भदौ । बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माण र आवागमन सहज बनाउन काम तीव्र पारिएको प्रधानमन्त्री वालेन्द्र शाहले जानकारी दिनुभएको छ । तर, नुवाकोटको देवीघाटमा बेलिब्रिज निर्माण भइरहेको उहाँको दाबीमाथि स्थानीयस्तरबाटै प्रश्न उठेको छ ।

प्रधानमन्त्री शाहले मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको विवरणमा गल्छी–वेत्रावती सडकको गल्छी–देवीघाट खण्डमा लेदो हटाउने कामसँगै बेलिब्रिज निर्माण अघि बढिरहेको उल्लेख गर्नुभएको थियो । तादी–देवीघाट क्षेत्रमा बेलिब्रिज राख्ने तयारीसमेत तीव्र पारिएको उहाँले जनाउनुभएको थियो ।

तर नुवाकोटकी नेतृ उषाकिरण तिमल्सिनाले प्रधानमन्त्रीले उल्लेख गर्नुभएको अवस्थाभन्दा देवीघाटको स्थलगत अवस्था फरक रहेको दाबी गर्नुभएको छ ।

उहाँका अनुसार मंगलबार दिउँसोसम्म देवीघाटमा बेलिब्रिज निर्माणको काम सुरु भएको थिएन । तत्काल आवतजावत सहज बनाउन तुइन राख्ने तयारीसमेत वर्षाका कारण रोकिएको तिमल्सिनाले सामाजिक सञ्जालमार्फत बताउनुभएको छ ।

बेलिब्रिज निर्माणको काम अघि बढेको भन्ने विवरण सार्वजनिक भइरहेका बेला अस्थायी आवतजावतका लागि आवश्यक तुइनसमेत राख्न नसकिएको अवस्थाले सरकारी विवरण र स्थानीय अवस्थाबीच तालमेल नरहेको देखिएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री शाहले भने बाढीबाट पृथ्वी राजमार्गसहित विभिन्न सडक तथा पुलमा ठूलो क्षति पुगेको जानकारी दिनुभएको छ । उहाँका अनुसार ४८ वटा झोलुंगे पुलमा क्षति पुगेको छ । तीमध्ये २० वटा मर्मत गर्न सकिने र २८ वटा पुनःनिर्माण गर्नुपर्ने अवस्था रहेको छ ।

बाढीका कारण ३१ वटा मोटरेबल पुल बगेको जानकारी दिँदै प्रधानमन्त्रीले विभिन्न स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । सडक मर्मत तथा पुनःनिर्माणका लागि प्राविधिक जनशक्ति परिचालन गरिएको र आपत्कालीन बजेटको व्यवस्था गरिएको उहाँले जनाउनुभएको छ ।

प्रधानमन्त्रीका अनुसार क्षतिग्रस्त पूर्वाधारको अवस्था हेलिकोप्टर तथा पैदलमार्फत समेत संकलन भइरहेको छ । थप स्थानमा बेलिब्रिज राख्न सकिने सम्भावनाबारे पनि अध्ययन भइरहेको उहाँले बताउनुभएको छ ।

यता, देवीघाटको स्थलगत अवस्थाबारे आएको दाबी र प्रधानमन्त्रीबाट सार्वजनिक गरिएको विवरणबीच देखिएको अन्तरले बाढीपछिको पुनःस्थापना तथा पूर्वाधार निर्माणको प्रगति विवरणबारे थप स्पष्टता आवश्यक देखिएको छ ।

प्रकाशित मिति: १७ भदौ २०८३, बुधबार  ०८ : ३३  बजे