रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौंडा, १६ भदौ । ‘भरे कुरा गरौँला ।’ भदौ १० गते बिहान करिब ६ बजे रसुवाबाट श्रीमती रविनासँग कुरा गर्दा सविन रानामगरले यति भनेर फोन राख्नुभएको थियो । काम सुरु हुन लागेको थियो। यता रविना पाँच वर्षीया छोरीलाई विद्यालय पठाउने तयारीमा हुनुहुन्थ्यो।

त्यसको केही समयपछि रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आयो । बाढीको खबर पाएपछि रविनाले श्रीमान्लाई फोन गर्नुभयो । तर, फोन उठेन । पटक–पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । बिहान ‘भरे कुरा गरौँला’ भनेर छुट्टिएको त्यो संवाद नै उहाँहरूबीचको अन्तिम बन्न पुग्यो ।

मकवानपुरको भीमफेदी गाउँपालिका–२ का सविन विगत चार वर्षदेखि रसुवाको जलविद्युत् आयोजनामा सवारीचालकका रूपमा कार्यरत हुनुहुन्थ्यो । एक महिनाको बिदा लिएर घर आउनुभएका उहाँ केही दिनमै कम्पनीले बोलाएको भन्दै भदौ ७ गते काममा फर्किनुभएको थियो ।

सविनकी ठूलीआमा नानीमाया रानाका अनुसार, उहाँ आइतबार (भदौ ७ गते) घरबाट हिँड्नुभएको थियो । काठमाडौंमा बसेर मंगलबार (भदौ ९ गते) मात्र रसुवा पुग्नुभएको थियो ।

‘घर आउँदा एक महिनाका लागि बिदा लिएर आएको भन्नुहुन्थ्यो। पाँच–छ दिन हुनेबित्तिकै कम्पनीले बोलायो भनेर काममा फर्किनुभएको थियो,’ नानीमायाले भन्नुभयो,‘मंगलबार मात्रै रसुवा पुग्नुभएको थियो रे । त्यही बाढी आउने दिनबाट काम सुरु भएको थियो रे । एकैछिनमा सबै सकियो ।’

सम्पर्क टुटेपछि परिवार सुरुका दुई दिन कुनै सुखद खबर आउने आशामा बस्यो । त्यसपछि सविनको खोजीमा आफन्त अस्पताल तथा शव राखिएका स्थानसम्म पुग्न थाल्नुभयो । अन्ततः सोमबार (भदौ १५ गते) नवलपरासीमा फेला परेको एउटा शवसँगै परिवारको खोजी टुंगियो ।

शवको अवस्था बिग्रिएकाले अनुहारबाट पहिचान गर्न कठिन थियो । परिवारका निम्ति सविनलाई चिनाउने आधार बन्यो उहाँको बायाँ हातमा रहेको ट्याटु । भीमफेदी–२ का वडाध्यक्ष काशीराम बज्युका अनुसार, हातमा रहेको ट्याटुका आधारमा परिवारले सविनको शव पहिचान गरेको हो ।

सविनका बुवा १४–१५ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा हुनुहुन्छ । नेपालमा उहाँकी आमा, भाइ, श्रीमती रविना र पाँच वर्षीया छोरी हुनुहुन्छ । सविनको परिवार फोन आउने आशामा बसिरहँदा हेटौँडा उपमहानगरपालिका–५, ढुंगेधारामा पनि उस्तै बेचैनी थियो ।

दुई वर्षदेखि चिलिमे जलविद्युत् आयोजनामा टिपर चालकका रूपमा कार्यरत उद्धव खड्काले पत्नी निरू र छोरी निमिसालाई पनि आफूसँगै रसुवा लैजानुभएको थियो । छोरीलाई विद्यालय जान सहज होस् भनेर उहाँले नजिकै कोठा भाडामा लिएर परिवारलाई राख्नुभएको थियो । भदौ १० गते बिहान भोटेकोशीको बाढीका दृश्य सामाजिक सञ्जालमा फैलिएपछि हेटौँडामा रहेका उद्धवका आफन्तले फोन गर्न थाल्नुभयो ।

उद्धवको फोन लागेन । पत्नी निरूको नम्बरमा पनि सम्पर्क हुन सकेन । केही समयका लागि तीनैजना बेखबर हुनुभयो । भदौ ११ गते हेटौँडा उपमहानगरपालिकाको टोली उहाँहरूसहित सम्पर्कविहीन नागरिकको खोजीका लागि रसुवातर्फ निस्कियो । सडक अवरुद्ध भएकाले टोली काठमाडौंमै रोकियो ।

काठमाडौंका विभिन्न अस्पतालमा खोजी गर्दा उहाँहरूबारे जानकारी नपाएपछि भदौ १२ गते टोली नुवाकोट पुग्यो । त्यहाँ नेपाल प्रहरीले हेलिकोप्टरमार्फत उद्धार गर्नुभएका व्यक्तिहरूको सूचीमा दुई नाम भेटिए—निरू खड्का र निमिसा खड्का ।

आमाछोरी जीवित हुनुहुन्थ्यो । उहाँहरूको उद्धारपछि हेटौँडा ल्याउने व्यवस्था मिलाइयो । निरू र निमिसा जीवित भेटिएपछि उद्धव पनि कतै उद्धार भएर सुरक्षित स्थानमा हुनुहुन्छ भन्ने आशा परिवारमा थपिएको थियो । तर, उद्धवको नाम कुनै उद्धार सूचीमा भेटिएन । परिवारका सदस्य अस्पतालदेखि सम्भावित स्थानसम्म खोज्दै हिँड्नुभयो । अन्ततः भदौ १२ गते नवलपरासीमा उहाँको शव फेला पर्यो ।

हेटौँडा–५ का वडाध्यक्ष सुशील घिमिरेका अनुसार, कामको व्यस्तताका कारण उद्धव सातामा एक दिनजति मात्र परिवारसँग बस्न कोठामा आउनुहुन्थ्यो । बाढी आउँदा उहाँ काममा हुनुहुन्थ्यो । कोठामा रहेका निरू र निमिसाले भने बाढी आएको थाहा पाएपछि अरूसँगै भागेर ज्यान जोगाउनुभएको थियो ।

‘उद्धव शनिबार कोठामा आएर आइतबार काममा जानुभएको रहेछ । छोरीलाई स्कुल पठाउन सहज होस् भनेर स्कुलनजिकै कोठा भाडामा लिएर परिवारलाई राख्नुभएको रहेछ,’ वडाध्यक्ष घिमिरेले भन्नुभयो,‘त्यो दिन बिहान एक्कासि बाढी आयो । श्रीमती र छोरी भने कोठामै भएकाले भागेर ज्यान जोगाउन सफल हुनुभएछ ।’

निरू र निमिसा जीवितै हेटौँडा फर्किनुभयो।

उद्धव दुई वर्षदेखि रसुवामा काम गरिरहनुभएको थियो । हेटौँडा–१५, भोर्लेका २६ वर्षीय सुमन गोलेलाई भने राम्रो आम्दानीको आशाले दुई महिनाअघि मात्र रसुवा पुर्याएको थियो । उहाँ त्यसअघि हेटौँडा–१५ स्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगमा अपरेटरका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

रसुवामा उहाँ हाइड्रोपावरको स्काभेटर चालकका रूपमा काम गर्नुहुन्थ्यो । बाढी आएको बिहान उहाँ रातिको काम सकेर फर्किनुभएको थियो । बिहान करिब ६ बजे श्रीमती रेविकासँग फोनमा कुरा गर्नुभयो । रातभर काम गरेकाले निद्रा लागेको र अहिले सुत्ने तथा दिउँसो फेरि फोन गर्ने बताउनुभएको थियो ।

सुमनकी छिमेकी निर्मला घलानका अनुसार, त्यसपछि श्रीमतीसँग उहाँको फेरि कुरा हुन पाएन । ‘राम्रो तलब हुन्छ भनेर दुई महिनाअघि मात्रै उता काममा जानुभएको थियो,’ उहाँले भन्नुभयो,‘नाइट ड्युटी सकेर बिहान श्रीमतीसँग कुरा गर्नुभएको रहेछ । रातभरिको निद्रा छ, अहिले सुत्छु, दिउँसो फोन गरौँला भन्नुभएको थियो रे । बिहानै बाढीले बगाएछ ।’

बाढीको खबर पाएपछि परिवारले सुमनलाई पटक–पटक फोन गरेको थियो । तर, सम्पर्क हुन सकेन । निर्मलाका अनुसार, सुमनका साथीहरूबाट परिवारले पाएको जानकारीमा बाढी आउँदा उहाँ सुतिरहनुभएको थियो । साथीहरूले उठेर भाग्न आग्रह गरे पनि समयमै बाहिर निस्कन नसकेको जानकारी परिवारले पाएको उहाँले बताउनुभयो ।

परिवारको प्रतीक्षा अन्ततः सुखद रहेन । सुमनको शव पनि नवलपरासीमा फेला पर्यो । उहाँको परिवारमा श्रीमती, चार वर्षीय छोरा र भाइ हुनुहुन्छ । सविन, उद्धव र सुमनका घर फरक थिए । रसुवा पुगेको समय फरक थियो । जिम्मेवारी पनि फरक थिए । तर, तीनैजनालाई घरबाट टाढा पुर्याउने कारण एउटै थियो—रोजगारी ।

त्यही रोजगारीले तीनैजनालाई रसुवाका जलविद्युत् आयोजनासँग जोडेको थियो । रोजगारीका निम्ति उहाँहरू घरबाट निस्कनुभएको थियो । तर, तीनैजनाको खोजी अन्ततः घर फर्कने बाटोमा होइन, शव पहिचान गर्ने ठाउँमा पुगेर टुंगियो । रासस

प्रकाशित मिति: १६ भदौ २०८३, मंगलबार  १४ : १४  बजे