सरकारलाई रसुवावासीको आग्रह : ‘सास बचाउन नसके पनि कम्तीमा लास खोजिदिनुस्, बाँचेकालाई राहत दिनुस्’

काठमाडौं, १५ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित क्षेत्रका नागरिकले सरकारसँग उद्धार, बेपत्ताको खोजी र राहत वितरणलाई तीव्र बनाउन आग्रह गर्नुभएको छ।

बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्ती तथा बजारमा ठूलो क्षति पुर्‍याएको छ। टिमुरे, बेत्रावती, स्याफ्रुबेँसीलगायत क्षेत्र प्रभावित भएका छन्। बाढीमा सयौँको मृत्यु भएको तथा ठूलो संख्यामा नागरिक सम्पर्कविहीन रहेको अवस्थामा राज्यको उपस्थिति प्रभावकारी रूपमा महसुस गर्न नपाएको प्रभावित नागरिकको गुनासो छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ बेत्रावतीकी शान्ति अधिकारीले बाढी आउनुअघि स्थानीयवासीले एकअर्कालाई खबर गर्दै ज्यान जोगाउन सफल भएको बताउनुभएको छ।

उहाँका अनुसार पूर्ववडाध्यक्षले स्कुटरमा गाउँ–बस्तीमा पुगेर बाढीको सूचना दिनुभएपछि धेरै नागरिकले सुरक्षित स्थानतर्फ भागेर ज्यान जोगाउनुभएको थियो।

बाढीले आफ्नो घरसहित बस्ती नै बगाएको बताउँदै अधिकारीले राहत सामग्री नुवाकोटको विदुरसम्म पुगे पनि रसुवातर्फ प्रभावकारी रूपमा पुग्न नसकेको गुनासो गर्नुभएको छ।

उहाँले तत्काल राहत वितरणका साथै सडक तथा पुल पुनर्निर्माण गरी विस्थापित नागरिकको पुनःस्थापना गर्न सरकारसँग आग्रह गर्नुभएको छ।

नुवाकोटतर्फकी बेत्रावतीवासी लक्ष्मी डंगोलले प्रभावकारी पूर्वसूचना नपाएका कारण ठूलो मानवीय क्षति भएको बताउनुभएको छ।

उहाँका अनुसार बाढी आएको केही समयसम्म माथिल्लो क्षेत्रमा बसेर फसेका मानिसहरूले उद्धारका लागि गुहार मागिरहेको देखिए पनि तत्काल उद्धार हुन सकेन।

बाढी गएको तीन दिनपछि मात्र सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पुगेको दाबी गर्दै डंगोलले समयमै उद्धार भएको भए धेरै नागरिकको ज्यान जोगाउन सकिने बताउनुभएको छ।

बाढीमा आफ्नी बहिनीसहित परिवारका धेरै सदस्य गुमाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सरकारले अब सासको उद्धार गर्न नसके पनि लासको खोजी गरिदिए हुन्थ्यो।’

रसुवाकी शान्ता थापाले बाढी प्रभावित क्षेत्रमा अझै धेरै शव बगरमै रहेको बताउनुभएको छ। शव गन्हाउन थाले पनि उद्धार तथा व्यवस्थापनका लागि पर्याप्त जनशक्ति परिचालन हुन नसकेको उहाँको गुनासो छ।

घरबारविहीन भएका नागरिकका लागि सरकारले तत्काल गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने उहाँको माग छ।

बेत्रावतीका व्यापारी निर्मल प्याकुरेलका अनुसार बाढीमा उहाँकी आमा, दुई जना बाजे र पसलमा काम गर्ने एक महिलासहित परिवारका चार जना सम्पर्कविहीन हुनुहुन्छ।

बाढीले पसलमा रहेको ५० लाख रुपैयाँभन्दा बढी मूल्यको सामानसमेत बगाएको उहाँले बताउनुभएको छ।

प्याकुरेलले बेपत्ता परिवारका सदस्यको खोजी तीव्र बनाउन तथा रसुवाका दुर्गम क्षेत्रमा तत्काल राहत पुर्‍याउन सरकारसँग आग्रह गर्नुभएको छ।

उहाँका अनुसार रसुवामा ग्यास, नुन, चामल र तेललगायत अत्यावश्यक सामग्रीको अभाव हुन थालेको छ।

बेत्रावतीकै रानु अधिकारीले ऐतिहासिक बेत्रावती बजारको अस्तित्व नै नरहेको बताउनुभएको छ।

खोलाको छेउमा बस्ती बसेका कारण क्षति भएको भन्ने भनाइप्रति असन्तुष्टि जनाउँदै उहाँले बेत्रावती नयाँ बस्ती नभई ऐतिहासिक बजार भएको उल्लेख गर्नुभएको छ।

उहाँले बाढीमा बेपत्ता आफन्तको खोजी गर्न तथा बेत्रावती र त्यसभन्दा माथिका गाउँमा राहत पुर्‍याउन आग्रह गर्नुभएको छ।

‘सास नभए पनि कम्तीमा लास खोजिदिनुस्,’ उहाँको आग्रह छ।

प्रभावित नागरिकका अनुसार काठमाडौं आइपुगेकाहरूले तत्काल आफ्नै व्यवस्थापन गर्न सक्ने भए पनि रसुवा तथा माथिल्लो क्षेत्रमा अझै ठूलो संख्यामा नागरिक राहतको प्रतीक्षामा हुनुहुन्छ।

उहाँहरूले नुवाकोटको विदुरमा थुप्रिएको राहत सामग्री तत्काल रसुवाका प्रभावित क्षेत्रमा पुर्‍याउन आग्रह गर्नुभएको छ।

पीडितहरूले नुवाकोट हुँदै रसुवाको चीन सीमासम्मको सडक तथा आवागमन तत्काल सञ्चालन गर्न, राहत सामग्री दुर्गम बस्तीमा पुर्‍याउन, बेपत्ताको खोजी तीव्र बनाउन तथा घरबारविहीन परिवारको सुरक्षित पुनःस्थापना गर्न सरकारसँग माग गर्नुभएको छ।

बाढीबाट विस्थापित भएर काठमाडौं आउनुभएका नागरिकले आफूहरूलाई तत्काल व्यक्तिगत सहयोगभन्दा पनि गाउँमा विचल्लीमा परेका नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सरकारको ध्यान केन्द्रित गर्न आग्रह गर्नुभएको छ।

उहाँहरूको आग्रह छ—बाँचेकालाई तत्काल राहत दिनुस्, बेपत्ताको खोजी गर्नुस् र विस्थापित परिवारलाई सुरक्षित पुनःस्थापना गरिदिनुस्।

प्रकाशित मिति: १५ भदौ २०८३, सोमबार  २१ : ४०  बजे