शव पहिचान नगरी व्यवस्थापन गर्ने सरकारी नीति गलत : एमाले महासचिव पोखरेल

काठमाडौं, १४ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा व्यवस्थापनमा सरकारले अपनाएको नीति गलत भएको बताउनुभएको छ।

आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले शव पहिचान नगरी जमिनमुनि व्यवस्थापन गर्ने कार्य उचित नभएको बताउनुभएको हो।

डीएनए परीक्षणपछि पुनः उत्खनन गर्ने गरी शव व्यवस्थापन गरिएको भए पनि उक्त प्रक्रियाबाट पीडित परिवार सन्तुष्ट हुन नसकेको उहाँले बताउनुभयो। शव व्यवस्थापनप्रति पीडित परिवारबाट असन्तुष्टि व्यक्त भइरहेकाले सरकारले यस विषयमा गम्भीर ध्यान दिनुपर्ने उहाँको भनाइ छ।

‘शव पहिचानको सन्दर्भमा सरकारले जे नीति बनायो, यो अत्यन्त बेठीक भएको छ,’ पोखरेलले भन्नुभयो, ‘डीएनए परीक्षणपछि पुनः उत्खनन गर्ने हिसाबले शव व्यवस्थापन गरिएको अवस्था भए पनि पीडितहरूको दृष्टिकोणबाट हेर्दा उनीहरूलाई चित्त बुझेको अवस्था छैन।’

उहाँले विपद्मा ज्यान गुमाएकाहरूको शव पहिचान र सम्मानजनक व्यवस्थापन पीडित परिवारको संवेदनशील विषय भएकाले सरकारले त्यसतर्फ थप ध्यान दिनुपर्ने बताउनुभयो।

यसैबीच, एमालेले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि पार्टी पङ्क्तिबाट सहयोग संकलन गर्ने भएको छ। महासचिव पोखरेलका अनुसार प्रदेश इन्चार्ज र अध्यक्षहरूलाई सहयोग संकलन गर्न निर्देशन दिइएको छ।

पार्टीका तर्फबाट संकलन हुने सहयोग केन्द्रीय राहत कोषमा जम्मा गरिने उहाँले जानकारी दिनुभयो।

बाढी प्रभावित जिल्लामा पार्टी केन्द्रसँग समन्वय गर्न फोकल पर्सन तोकेर अघि बढ्ने पनि उहाँले बताउनुभयो। सम्बन्धित जिल्लामा तोकिने फोकल पर्सनले प्रभावित क्षेत्रको सूचना संकलन गरी पार्टीले सञ्चालन गर्ने राहत तथा उद्धार कार्यमा समन्वय गर्ने उहाँको भनाइ छ।

प्रकाशित मिति: १४ भदौ २०८३, आइतबार  २२ : २३  बजे