तीन मौसमी प्रणालीको प्रभावः आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं, ८ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेकाले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा तथा मधेस प्रदेशसहित अन्य केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रमा तातो दिनको अवस्था रहने अनुमान गरिएको छ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने तथा केही स्थानमा चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यसैबीच, काठमाडौं उपत्यकामा शुक्रबार बिहानैदेखि मौसम बदली भई वर्षा भइरहेको छ। मौसमविद् सञ्जीव अधिकारी का अनुसार बिहान ५ बजेदेखि उपत्यकाका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको हो।

उहाँका अनुसार अहिलेको वर्षा क्षणिक प्रकृतिको भए पनि दिउँसोपछि पुनः मौसम बदली भई अपराह्न वा साँझपख फेरि वर्षा हुन सक्ने सम्भावना रहेको छ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार  ०७ : ३७  बजे