काठमाडौं, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा हवाई टिकटको मूल्य अत्यधिक बढाइएको भन्दै आपत्ति जनाउनुभएको छ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले चाडपर्वको समयमा एयरलाइन्स कम्पनीहरूले यात्रुसँग मनपरी भाडा असुल्ने गरेको आरोप लगाउनुभयो।
उहाँले काठमाडौं–धनगढीको हवाई टिकट १६ हजार रुपैयाँसम्म र काठमाडौं–भद्रपुरको टिकट १२ हजार रुपैयाँसम्म पुगेको उल्लेख गर्नुभयो।
‘हरेक दसैँ–तिहारमा मनपरी भाडा, मौकामा चौका। एयरलाइन्स कम्पनीलाई चिकेन चिल्ली र यात्रुलाई लौका,’ उहाँले भन्नुभयो।
प्रसाईँले हवाई टिकटमा कालोबजारी भइरहेको आरोप लगाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको ध्यानाकर्षण गराउनुभयो। यात्रु समस्यामा पर्दा मन्त्रालय रमिते बनेर बस्न नहुने उहाँको भनाइ थियो।
दसैँको समयमा आन्तरिक हवाई उडानको माग बढेसँगै विभिन्न गन्तव्यको टिकटको मूल्य पनि बढेको देखिन्छ। हाल काठमाडौं–धनगढीको हवाई भाडा १६ हजारदेखि २२ हजार १८० रुपैयाँसम्म र काठमाडौं–भद्रपुरको ११ हजार ४०० देखि १५ हजार ७७० रुपैयाँसम्म रहेको विवरण सार्वजनिक भएको छ।
प्रसाईँले यात्रुलाई चाडपर्वको समयमा थप आर्थिक भार पर्ने गरी हवाई भाडा बढाउने प्रवृत्तिमाथि सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने माग गर्नुभएको छ।











प्रतिक्रिया