काठमाडौं, २२ भदौ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर खसेर दुर्घटना भएको छ।
आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ३०४८ नम्बरको ट्याक्टर आज बिहान करिब साढे ४ बजे पुलको छेउबाट झन्डै १५ मिटर तल खोलामा खसेको हो।
दुर्घटनामा ट्याक्टर चालक मेरिङदेन गाउँपालिका–१ का १९ वर्षीय समिर बराइली र उनीसँग रहेका अर्का व्यक्ति सकुशल रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुवैजना खोलाबाट पौडिएर बाहिरिएका थिए। चालक बराइली प्रहरीको सम्पर्कमा आइसकेका छन् भने अर्का व्यक्तिलाई पनि सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक विन्देश्वर यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। खोलाको बीचमा रहेको ट्याक्टर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया