भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं, १९ भदौ । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका मौसमविद् बिनु महर्जनका अनुसार बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भूभागमा दिउँसो भारी वर्षा हुन सक्ने सम्भावना छ। अन्य प्रभावित क्षेत्रमा भने मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभएको छ।

मौसमविद् महर्जनका अनुसार पछिल्लो छ घण्टामा झापाको अनारमनी–बिर्तास्थित मौसम मापन केन्द्रमा सबैभन्दा बढी ३४ मिलिमिटर वर्षा मापन भएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको विभागले जनाएको छ। अहिले देशभर सामान्यतया बदली रहेको छ भने कोसी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा कोसी, बागमती र गण्डकीका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। मधेस प्रदेशका थोरै स्थानमा समेत वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने विभागले जनाएको छ। कोसी, बागमती र गण्डकीका हिमाली भूभाग, देशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

विभागका अनुसार कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ। आगामी तीन दिनसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढी प्रभावित क्षेत्रमा थप सतर्कता अपनाउनुपर्ने देखिएको छ।

प्रकाशित मिति: १९ भदौ २०८३, शुक्रबार  ०९ : २५  बजे