चीनद्वारा नेपालको उद्धार तथा राहतका लागि मौसमसम्बन्धी सहयोग

काठमाडौं, १७ भदौ । नेपालसँगको सीमा क्षेत्रमा आएको भीषण बाढीपछि चीनले नेपालको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन मौसम अनुगमन, पूर्वानुमान, पूर्वसूचना तथा विपद्को प्रभावसम्बन्धी सेवाहरू उपलब्ध गराएको छ ।

चीन मौसम विज्ञान प्रशासन (सीएमए) का प्रवक्ता वाङ यावेईले बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाललाई मौसमसम्बन्धी सहयोग उपलब्ध गराइएको जानकारी दिनुभएको हो । उहाँको भनाइलाई चिनियाँ समाचार संस्था सिन्ह्वाले उद्धृत गरेको छ ।

प्रवक्ता वाङका अनुसार नेपालमा बाढीको विपद् आएलगत्तै चीनको मौसम विज्ञान प्रशासनले नेपालको जल तथा मौसम विज्ञान विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको थियो ।

नेपालमा जारी आपत्कालीन उद्धार तथा विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउन चीनले आवश्यक मौसम सेवा सुनिश्चित गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले नेपालसँग मौसमसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई थप मजबुत बनाउँदै विपद् व्यवस्थापन तथा आपत्कालीन प्रतिक्रियामा सहयोग जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: १७ भदौ २०८३, बुधबार  २० : १६  बजे