बाढीको विनाश कति भयावह? २४ लाख टन भग्नावशेष थुप्रियो

काठमाडौं, १७ भदौ । गत हप्ता नेपाल–चीन सीमा नजिक आएको बाढीबाट प्रभावित क्षेत्रमा २४ लाख टनभन्दा बढी भग्नावशेष तथा फोहोर थुप्रिएको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले प्रारम्भिक अनुमान गरेको छ ।

यूएनडीपीका अनुसार बाढीपछि थुप्रिएको भग्नावशेषमा घरका संरचना, घरायसी सामान, बोटबिरुवा, चट्टान तथा गेग्रानलगायतका सामग्री छन् ।

यति ठूलो मात्रामा भग्नावशेष थुप्रिनुले बाढीबाट भएको विनाशको गम्भीरता देखाएको यूएनडीपीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम अघि बढाउनुअघि भग्नावशेष र फोहोर हटाउनु ठूलो चुनौती बन्ने देखिएको छ । घर, सडक तथा सार्वजनिक स्थान सफा गरेर पुनर्निर्माण सुरु गर्न समुदायले थप कठिनाइ सामना गर्नुपर्ने यूएनडीपीले जनाएको छ ।

प्रकाशित मिति: १७ भदौ २०८३, बुधबार  ०८ : २०  बजे