रसुवा बाढीपीडितका पीडामा एमाले नेता डा. अन्सारीको मलम, प्रधानमन्त्री राहत कोषमा ५ लाख १ हजार सहयोग

‘एउटा नेपालीलाई चोट लाग्दा अर्को नेपालीले मलम लगाउनुपर्छ’

काठमाडौं, १५ भदौ । रसुवा, नुवाकोटलगायतका बाढीपहिरो प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा (एमाले) का नेता डा. अबुल हुसेन अन्सारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

डा. अन्सारीले आज उक्त रकम कोषको खातामा जम्मा गराउनुभएको हो । विपद्का कारण प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उहाँले व्यक्तिगत रूपमा उक्त रकम उपलब्ध गराउनुभएको बताउनुभएको छ ।

यसअघि पनि डा. अन्सारीको टोलीले रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर करिब ३ लाख रुपैयाँ बराबरका अत्यावश्यक औषधी तथा मेडिकल सामग्री हस्तान्तरण गरिसक्नुभएको थियो । विपद्को समयमा तत्काल आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउँदै उहाँको टोलीले प्रभावित नागरिकलाई प्रत्यक्ष सहयोग गरेको थियो ।

सहयोग रकम कोषमा जम्मा गरेपछि डा. अन्सारीले विपत्तिको यस कठिन घडीमा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोगको हात बढाउनुपर्नेमा जोड दिनुभएको छ । ‘एउटा नेपालीलाई चोट लाग्दा अर्को नेपालीले आफ्नो क्षमताअनुसार सहयोग गरेर घाउमा मलम लगाउनुपर्छ’ भन्ने मान्यताका साथ आफूले सहयोग गरेको उहाँको भनाइ छ ।

डा. अन्सारीले मुलुकमा विभिन्न समयमा आइपर्ने प्राकृतिक विपत्तिमा प्रभावित नागरिकलाई सहयोग गर्दै आउनुभएको छ । उहाँले विपद्मा परेका नागरिकको पीडालाई साझा पीडाका रूपमा लिएर मानवीय सहयोगलाई निरन्तरता दिनुपर्ने बताउँदै आउनुभएको छ ।

विपत्तिको समयमा आर्थिक तथा स्वास्थ्य सामग्रीमार्फत निरन्तर सहयोग गर्दै आउनुभएका डा. अन्सारीको यस पहलले राहत र पुनःस्थापनाका लागि सामूहिक सहयोगको आवश्यकता थप उजागर गरेको छ ।

प्रकाशित मिति: १५ भदौ २०८३, सोमबार  १७ : १६  बजे