भोटेकोसी बाढीमा १९ विद्यालय प्रभावित, २०० भन्दा बढी विद्यार्थी बेपत्ता

काठमाडौं, १५ भदौ । नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी र पहिरोका कारण रसुवा र नुवाकोटसहित अति प्रभावित तीन जिल्लाका कम्तीमा १९ वटा विद्यालय प्रभावित भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार बाढी तथा पहिरोमा परी २०० भन्दा बढी विद्यार्थी बेपत्ता भएका छन् भने कम्तीमा २० जना विद्यार्थी बाढीमा बगेको पुष्टि भएको छ। विभिन्न विद्यालयमा कार्यरत शिक्षकसमेत सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ।

बाढी र पहिरोका कारण कम्तीमा ९ वटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने ७ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ।

रसुवा र नुवाकोटका प्रभावित विद्यालयमा कुल २ हजार ४२५ विद्यार्थी अध्ययनरत रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये केही विद्यालय लेदोले पुरिएका छन् भने केही बाढीले बगाएको जनाइएको छ।

एक विद्यालयले आफ्ना विद्यार्थी सवार बससमेत बाढीले बगाएको जानकारी मन्त्रालयलाई गराएको छ।

बाढीबाट विद्यालय भवन, विद्यार्थी तथा शिक्षक प्रभावित भएपछि प्रभावित क्षेत्रको शैक्षिक गतिविधिसमेत गम्भीर रूपमा प्रभावित बनेको छ। सरकारले क्षतिको थप विवरण संकलन तथा प्रभावित विद्यार्थी र शिक्षकको अवस्थाबारे खोजी गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १५ भदौ २०८३, सोमबार  ०८ : ०१  बजे