काठमाडौं, १४ भदौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १७औँ संस्करणको नाडा अटो शो २०२५ सम्पन्न भएको छ। भदौ ३ गतेदेखि काठमाडौंमा सञ्चालन भएको प्रदर्शनीमा १ लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ।
समापन समारोहमा नाडाका अध्यक्ष करण चौधरीले यस वर्षको अटो शो विभिन्न दृष्टिले ऐतिहासिक बनेको दाबी गर्नुभयो। उहाँका अनुसार नाडा अटो शो अब गाडी प्रदर्शनीमा मात्र सीमित नभई नयाँ प्रविधि र भविष्यका सवारीसाधन प्रदर्शन गर्ने महत्वपूर्ण मञ्चका रूपमा विकास भएको छ।
यसपटक प्रदर्शनीमा उड्ने ट्याक्सी र रोबोटसमेत राखिएको अध्यक्ष चौधरीले बताउनुभयो। उहाँले नाडा अटो शोले नयाँ उचाइ हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा नेपालमै उत्पादनमुखी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
राजनीतिक तथा उच्चपदस्थको बाक्लो उपस्थिति
यस वर्षको नाडा अटो शोमा राजनीतिक तथा उच्चपदस्थ व्यक्तिहरूको समेत उल्लेख्य उपस्थिति देखिएको थियो।
उद्घाटन कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहभागी हुनुभएको थियो। समापन समारोह स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गर्नुभएको थियो।
अटो शो अवलोकन गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत पुग्नुभएको थियो।
त्यस्तै सांसद योगेश भट्टराई, पूर्वउद्योगमन्त्री कर्ण थापालगायत राजनीतिक व्यक्तित्वले पनि प्रदर्शनी अवलोकन गर्नुभएको थियो।
आयोजकका अनुसार अटो शोले सवारीसाधनको प्रदर्शनीसँगै अटो व्यवसायी र नीति निर्माण तहबीचको संवाद तथा नीतिगत पहुँचका लागि समेत महत्वपूर्ण मञ्चको भूमिका निर्वाह गरेको छ।
विभिन्न विधामा अवार्ड
अटो शोमा विभिन्न विधाका उत्कृष्ट स्टललाई अवार्ड प्रदान गरिएको थियो।
प्यासेन्जर सेग्मेन्टतर्फ दिपलले उत्कृष्ट स्टलको अवार्ड प्राप्त गरेको छ। कमर्सियल सेग्मेन्टमा डीएफएसके, दुईपाङ्ग्रेमा रोयल इन्फिल्ड तथा कम्पोनेन्टतर्फ हिक्टोले उत्कृष्ट स्टलको अवार्ड पाएका छन्।
प्रदर्शनीमा विद्युतीय सवारीसाधन, अत्याधुनिक प्रविधि तथा विभिन्न ब्रान्डका चारपाङ्ग्रे, दुईपाङ्ग्रे र व्यावसायिक सवारीसाधन प्रदर्शनमा राखिएका थिए।

























प्रतिक्रिया