भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाडौं, १३ भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी १ हजार ९२४ जना अझै सम्पर्कविहीन छन् ।

प्राधिकरणका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६, नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७, तनहुँमा ३० र चितवनमा २३३ जनाको शव फेला परेको छ ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये १२९ जना विदेशी नागरिक छन् । यस्तै, जलविद्युत् आयोजनाका सुरुङबाट मात्रै १९१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका १५ जना छन् । यस्तै, ५१७ जना विदेशी नागरिक पनि सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ ।

बाढीमा परी घाइते भएका ९५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

खोज तथा उद्धारका लागि १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले शनिबार पनि खोज, उद्धार तथा राहत वितरणको कामलाई निरन्तरता दिने जनाएको छ ।

खोज तथा उद्धारका लागि नेपाली सेना र निजी कम्पनीका गरी १६ वटा हेलिकोप्टर परिचालन गरिएको छ । तर, जंगल तथा अप्ठ्यारो भूबनोट भएका क्षेत्रमा अलपत्र परेकाहरूको उद्धारमा कठिनाइ भइरहेको गुनासो आएको छ ।

प्रकाशित मिति: १३ भदौ २०८३, शनिबार  ०९ : ४९  बजे