भोटेकोशीका बाढीपीडितलाई मेलम्ची बाढीपीडितको एक लाखभन्दा बढी सहयोग

काठमाडौं, १२ भदौ । सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीडितले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि एक लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।

मेलम्ची बाढीबाट प्रभावित स्थानीयले रकम संकलन गरी १ लाख ४ हजार १६५ रुपैयाँ सहयोग गरेका हुन् । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको उनीहरूले बताएका छन् ।

२०७८ साल असार २ गते मेलम्चीमा आएको बाढीबाट प्रभावित प्रकाश श्रेष्ठले आफूहरूले भोगेको पीडा सम्झेर रसुवाका बाढीपीडितलाई सहयोग गरेको बताउनुभयो ।

‘रसुवामा आएको विनाशकारी बाढीबाट धेरै परिवार पीडित र दुःखी भएका छन् । केही वर्षअघि हामीले मेलम्चीमा यस्तै पीडा भोगेका हौँ’, उहाँले भन्नुभयो, ‘उहाँहरूको पीडामा मल्हम लगाउन थोरै भए पनि रकम संकलन गरेका हौँ ।’

मेलम्चीवासी, व्यवसायी, समाजसेवी तथा अन्य सहयोगीबाट रकम संकलन गरिएको श्रेष्ठले बताउनुभयो ।

मेलम्ची बाढीपीडित कुमार दुलालले आफूहरूले भोगेको त्रासदी अझै मानसपटलमा ताजै रहेकाले रसुवाको विपद्मा चुपचाप बस्न नसकेको बताउनुभयो ।

‘अहिलेको जस्तै त्रासदी हाम्रो मानसपटलमा ताजै छ । हामी चुपचाप बस्न सकेनौँ’, उहाँले भन्नुभयो ।

समयमै आवश्यक सहयोग र समन्वय हुन सके विपद् व्यवस्थापन प्रभावकारी हुने उहाँले बताउनुभयो । अन्यथा विपद् प्रभावितले थप पीडा भोग्नुपर्ने भन्दै उहाँले राहत तथा पुनःस्थापनामा जुट्न सबैलाई आग्रह गर्नुभयो ।

संकलित १ लाख ४ हजार १६५ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ ।

प्रकाशित मिति: १२ भदौ २०८३, शुक्रबार  २० : १४  बजे