पर्वतारोहणलाई सहज बनाउन सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्वतारोहणलाई सहज बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ । अन्नपूर्ण हिमाल आरोहणको ७५औं वार्षिकोत्सव तथा हीरक महोत्सवको अवसरमा आज म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजित एक समारोहको उद्घाटन गर्दै उहाँले पर्वतारोहण क्षेत्रको विकासका काम भइरहेको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले पर्वतारोहणलाई कम जोखिमयुक्त बनाउन वर्तमान सरकार लागिपरेको उल्लेख गर्नुभयो । पर्वतारोहणलाई सुरक्षित र भरपर्दो बनाउन तथा हिमाल आरोहीहरूको आकर्षण बढाउनका लागि आधार शिविरलगायतका क्षेत्रहरूमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।

प्रधानमन्त्रीले अन्नपूर्ण प्रथम हिमाल आरोहणले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्व सामु चिनाएको बताउनुभयो । अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्जोगका कारण फ्रान्स र नेपालबीच मित्रताको सम्बन्ध स्थापित भएको उहाँले चर्चा गर्नुभयो ।

मौरिस हर्जोगले आरोहण गरेको क्षेत्रमै अन्नपूर्ण हीरक महोत्सवको आयोजनाले पर्वतारोहण र पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले अन्नपूर्ण क्षेत्रमा सुरुङमार्ग, केबलकार, जलविद्युत‍्को विकास र धार्मिक पर्यटनको विकास गरेर समृद्धि हासिल गर्न सकिने भन्दै मुस्ताङको मुक्तिनाथ, दामोदरकुण्ड र लोमान्थाङ पर्यटकीय स्थलहरू भएकाले यसको विकास गरेर थप पर्यटन भित्र्याउन सकिनेमा जोड दिनुभयो । सरकारले कालीगण्डकी करिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडकको स्तरोन्नति र कोरला नाकामा आवश्यक पूर्वाधार निर्माणलाई जोड दिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डले पर्यटकीय क्षेत्र लक्षित पर्यटन नीति र पर्यटन ऐनलाई सरकारले चाँडै ल्याउन लागेको बताउनुभयो । उहाँले नेपालको पर्वतारोहण र पर्यटन क्षेत्रको विकासका लागि सरकारले ल्याउन लागेको ऐनले सहयोग पुग्ने भन्दै आरोहण कल्याण कोषको स्थापना गरेर पर्वतारोहण क्षेत्रमा लागेका आरोही र पर्वतारोहीलाई सरकारले सहयोग गर्ने जानकारी दिनुभयो ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, नेपालका लागि फ्रान्सेली राजदूत भिर्जिनी कोर्ताभाल, गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री मित्रलाल बत्स्याल र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आजभन्दा ७५ वर्ष पहिला अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर मौरिस हर्जोगले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमा चिनाउनुका साथै हिमाल आरोहणका क्षेत्रको विकासमा सहयोग पुर्‍याएको धारणा राख्नुभयो ।

सन् १९५० जुन ३ तारिख अर्थात् आजैको दिन पहिलो पटक विश्वको १०औं अग्लो ९८ हजार ९१ मिटर० अन्नपूर्ण प्रथम हिमालमा मानव पाइला परेको थियो । सगरमाथा हिमालको आरोहणभन्दा तीन वर्ष पहिले फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुइस लचेनलले पाइला टेकेपछि विश्वका ८ हजार मिटर अग्ला हिमालमा आरोहणको आरम्भ भएको हो । अहिले अन्नपूर्ण प्रथमको आधार शिविर जाने पदमार्गलाई मौरिस हर्जोग पदमार्ग नामकरण गरिएको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०८२, मंगलबार  २० : १५  बजे