काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा गर्दा नबिल बैंक लिमिटेडले खुद नाफामा उल्लेखनीय गिरावट बेहोरेको छ । बैंकले सार्वजनिक गरेका अपरिष्कृत वित्तीय विवरणअनुसार, गत वर्षको सोही अवधिसँग तुलना गर्दा बैंकको खुद नाफा १४.५७ प्रतिशतले घटेको छ ।
पहिलो तीन महिनामा बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो रकम २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि ५.७७ प्रतिशतले घटेर ३ अर्ब ९० करोड १२ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ । समग्र रूपमा, बैंकको कुल सञ्चालन आम्दानी १.०३ प्रतिशतले घटेर ५ अर्ब २७ करोड ४१ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन मुनाफा १०.८४ प्रतिशतले कमी भई २ अर्ब ५७ करोड ९८ लाख ८६ हजार रुपैयाँमा झरेको छ ।
सकारात्मक पक्षमा, खुद फि तथा कमिशन आम्दानी भने ६.२९ प्रतिशतले वृद्धि भई ७९ करोड ८७ लाख २८ हजार रुपैयाँ पुगेको छ ।
यता, समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (EPS) २५ रुपैयाँ ९७ पैसा मात्र रहेको छ, जुन गत वर्षको तुलनामा ३ रुपैयाँ ८६ पैसा कम हो । बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७२ पैसा र पी/ई अनुपात १९.९७ गुणा रहेको छ ।
वर्तमान त्रैमासको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ सञ्चित रहेको बैंकले जनाएको छ । यस अवधिमा बैंकले ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको पनि वित्तीय विवरणले देखाएको छ ।








प्रतिक्रिया