महेश बस्नेतको ठोकुवा : रामकुमारी झाँक्रीको समूह आज एमालेमा फर्किएको घोषणा गर्दैछ

भक्तपुर, कात्तिक १९ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेकपा एकीकृत समाजवादीसँग असन्तुष्ट रामकुमारी झाँक्रीको समूहले आज एमालेमा फर्किएको घोषणा गर्ने खुलासा गर्नुभएको छ ।

बस्नेतका अनुसार नेतृ झाँक्रीसहित किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत एकीकृत समाजवादीका एक सय भन्दा बढी नेताहरु एमालेमा फर्किने तयारीमा हुनुहुन्छ ।

सो समुहले बबरमहलस्थित होटल बसेरामा बुधबार बिहान १० बजे पत्रकार सम्मेलन गरेर औपचारिक घोषणा गर्ने तयारी गरेको बस्नेतले बताउनु भयो । यस्तै प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधि एमालेमा फर्किँदा हुन सक्ने कानुनी जटिलता (दलफेर सम्बन्धी कानुन, पद गुम्ने सम्भावना) बारे कानुनी सल्लाह भइरहेको जानकारी पनि बस्नेतले दिनुभएको छ ।

एकीकृत समाजवादी माओवादी केन्द्रसहित ९ कम्युनिस्ट घटकसँग एकतामा जाने भएपछि उनीहरू आफ्नो पुरानै पार्टी एमालेमा फर्किन लागेका हुन्। झाँक्रीसहितका नेतहरु एमाले फर्कने घोषणा गर्न लागेकै बेला मंगलबार राती एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि भक्तपुरको गुन्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

सो भेटबार्ता सकारात्मक रहेको बस्नेतले बताउनु भयो । बस्नेतले भन्नुभयो, ‘यसले पुराना एमाले नेताहरूबीचको सम्बन्ध सुधार भइरहेको संकेत दिन्छ।’

प्रकाशित मिति: २० कार्तिक २०८२, बुधबार  ०९ : १६  बजे