राजनीतिक दलहरू टुट्नु फुट्नु राम्राे हाेइन, सुसंगठित भएर अघि बढ्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरू सुसङ्गठित भएर अघि बढ्नुपर्ने बताएकी छन् । प्रतिलिपि नागरिकता लिन मङ्गलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेकी उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएकी हुन् ।

उनले राजनीतिक दलहरू टुट्नु फुट्नु राम्रो नभएको बताइन् । पार्टीभित्रका मतभेदहरू भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहरू एक हुनुपर्ने बताइन् ।

उनले भनिन्,‘पार्टीहरू टुट्नु फुट्नु राम्रो कुरा होइन, पार्टीहरू सुसङ्गठित भएर पार्टीभित्र केही मतभेद छ भने अन्तरसंघर्ष गरेर अघि बढ्नुपर्छ । राष्ट्रको शान्तिका लागि पनि पार्टीहरू पनि सुदृढ हुने र अन्तरसंवाद गरेर अघि बढ्ने, मतभेदहरू पार्टीभित्रै समाधान गरेर अघि बढ्नु राम्रो हो ।’

उनले ताजा जनादेशका लागि अहिलेको सरकार गठन भएको उल्लेख गर्दै निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्ने बताइन् । सुरक्षाकर्मीहरूका हातहतियारहरू लुटिएको भन्दै गल्ती गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिँदै राजनीतिक दलहरूलाई पनि बोलाएर संवाद गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, मंगलबार  १५ : २१  बजे