काठमाडौं, १४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनका लागि छ लाख ६० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि चयन हुनेछन् ।
एमाले सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने ती सङ्गठित सदस्यले २०८२ चैत मसान्तसम्म सदस्यता नवीकरण गरिसकेको बताए । उनले भने, “हामीले सबै सङ्गठित सदस्यको प्रमाणीकरण गर्ने काम अन्तिम चरणमा पुर्याएका छौँ ।
करिब छ लाख ६० हजार सङ्गठित सदस्यबाट नै प्रतिनिधि छनोट हुनेछन् ।” भोलि बस्ने सचिवालय बैठकले सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाउने विभाग प्रमुख अधिकारीले जानकारी दिए ।
यसअघि पार्टीको १०औं महाधिवेशनका लागि आठ लाख ५० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गरिएका थिए । एमालेको ११औं महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा तोकिएको छ ।

                    
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                
            






प्रतिक्रिया