रुपन्देही, १३ कात्तिक । नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ । भैरहवाको विद्युत कार्यालय अगाडि सम्बोधनको क्रममा अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्याइएको थियो ।
त्यहाँ उहाँलाई डाक्टरले मृत घोषणा गरेको रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहराले जानकारी दिनुभयो । गौतम बुधबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा भएको बैठकको संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने जनाउनुभएको थियो । धर्ना कार्यक्रममा बोल्दै उहाँ केही आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएको थियो ।
उहाँले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गर्नुभएको थियो । उहाँले श्रमिकहरूलाई गुमाउन नचाहेको बताउँदा बताउँदै बोली लरबरिएको थियो । ‘अतः यो कारणले’ भन्दै गर्दा उहाँ ढल्नुभयो । उहाँ ढलेलगत्तै उपचारको लागि क्रिमशन अस्पताल पुर्याइएको थियो ।
अहिले अस्पतालमा उद्योगी व्यवसायी सम्बद्ध संस्थाका प्रतिनिधि रहेका छन् । उहाँलाई गाडीमा राखेर अस्पताल पुर्याएका उद्योगी बोहोराले १२ मिनेटमा अस्पताल पुर्याएको भएपनि बचाउन नसकेको जनाउनुभयो । ६२ वर्षीय गौतमका दुई छोरा र श्रीमती छन् ।
बुटवलको लक्ष्मीनगरमा स्थायी बसोबास हुनुभएको उहाँ दुई दिन अघि काठमाडौंबाट आएर यो आन्दोलनको अगुवाइ गर्नुभएको थियो । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम २०५४ सालदेखि जिफन्टमा सक्रिय रूपमा सक्रिय थिए ।








प्रतिक्रिया