मुस्ताङ र म्याग्दीको बिच भागमा फसेका पर्यटकको उद्धारमा खटियो सुरक्षा टोली

काठमाडौँ ।  हिमपातका कारण म्याग्दीको धौलागिरी सर्किट हुँदै मुस्ताङ आउँदै गरेका पर्यटकको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।

मुस्ताङ र म्याग्दीको सीमानामा ३ जना स्वदेशी र १२ जना विदेशी पर्यटक गरी १५ जना हिमपातको कारण फसेको भन्ने ट्राभल्स एजेन्सीद्धारा सुरक्षा निकायलाई जानकारी गराएपश्चात उनीहरुको उद्धारको लागि टोली खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उनीहरुको उद्धारका लागि त्यसठाउँमा पुग्न सुरक्षा टोली मुस्ताङ्गको सदरमुकामदेखि झण्डै एक दिन पैदल हिड्नुपर्ने बताइईएको छ । उनीहरुको अवस्था भने अहिलेसम्म सामान्य रहेको जानकारी प्राप्त भएको थापाले बताए ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ्गले २ सय ५० जनाको निःशुल्क परिक्षण गरेको छ । जसमा ९० जना महिला र ६० जना पुरुषको अक्सिजन लेभल र ६० जना महिला र ४० जना पुरुषको रक्तचाप परिक्षण गरिएको हो । उनीहरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको हो ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म मनाङ्ले हिउँको कारण माथिल्लो मनाङदेखि थाङसासम्मको करीव ८ किलोमिटर अवरुद्ध बाटो हिउँ पन्छाई सुचारु गरेको थापाले बताए ।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बुधबार  १६ : ४८  बजे