धरान, कात्तिक १२। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्तालाई एमालेमा फर्किन आह्वान गर्नुभएको छ।
एमाले जनसंगठन संयन्त्र, कोशीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले एकीकृत समाजवादी र माओवादीबिच एकता हुने चर्चा चलिरहेको बताउँदै एकीकृत समाजवादीलाई ‘बस स्टप’ जस्तो बनाएर माओवादी केन्द्रमा मिसाउन खोजिएको भन्दै व्यङ्ग्य गर्नुभयो। ‘नेकपा फुटाएर नयाँ पार्टी बनाउँछौँ, नयाँ उचाइमा पुर्याउँछौँ भन्नेहरू आज माओवादीमा जान खोज्दै हुनुहुन्छ, के माओवादीमा जानका लागि एकीकृत समाजवादी पार्टीलाई बस स्टप बनाइएको हो ?’ उहाँले भन्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रति टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘प्रचण्डले पुनः आफू अध्यक्ष बन्नका लागि विभिन्न पार्टीहरूसँग एकीकरणको प्रयास गर्नुभएको छ, माओवादी केन्द्र होइन, नयाँ पार्टीको अध्यक्ष म हुँ भन्नका लागि यो सबै भइरहेको हो।’
नेता ज्ञवालीले राष्ट्र हित, लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि यति बेला गम्भीर चुनौती उत्पन्न भएको बताउनुभयो। ‘लोकतन्त्र, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ, जेनजी आन्दोलनको नाममा देशमा विध्वंस सृजना गर्दै सार्वभौम सत्ता र राष्ट्रियतालाई खतरामा पार्ने प्रयास भइरहेको छ, हामी सबै सचेत हुनुपर्छ’, उहाँले भन्नुभयो ।
उहाँले नेपालको भूमि प्रयोग गरी छिमेकी मुलुकहरूलाई प्रयोग गर्न खोज्ने प्रयास भइरहेको दाबी गर्दै त्यस्ता षड्यन्त्रबाट होसियार रहन अपिल गर्नुभयो। पछिल्ला घटनाक्रमले संविधान र लोकतन्त्र नै संकटमा परेको उहाँको धारणा छ । ‘संविधानले नचिनेका व्यक्तिहरू प्रधानमन्त्री भएका छन्, हैसियत नभएकाले कर्मचारीलाई थर्काइरहेका छन्, कर्मचारीहरू डराइरहेका छन्, काम हुन सकेको छैन, आन्तरिक मात्र होइन, राष्ट्रिय सुरक्षा पनि खतरामा छ’, उहाँले भन्नुभयो ।
उहाँले हालको परिस्थितिमा निर्वाचन सम्भव नदेखिएको बताउँदै देशलाई अस्थिर बनाउन विभिन्न षड्यन्त्रहरू भइरहेको उल्लेख गर्नुभयो। ‘संविधान मात्रै होइन, देशलाई नै सिद्ध्याउने षड्यन्त्र भइरहेको छ, जेलेन्स्की जस्ता पात्र सिर्जना गरेर मुलुकलाई ध्वंस गर्ने प्रयास भइरहेको छ’, ज्ञवालीले भन्नुभयो ।
कार्यकारी सत्ता र संसदबीचको सन्तुलन लोकतान्त्रिक अभ्यासको मूल आधार भएको उल्लेख गर्दै उहाँले पपुलिजमको प्रभावमा परेर कार्यकारी सत्तामुखी राजनीतिक प्रवृत्तिले खतराको सङ्केत दिइरहेको बताउनुभयो। ‘अहिलेको व्यवस्थामा संसद्ले कार्यकारीमाथि चेक एण्ड ब्यालेन्सको भूमिका निर्वाह गर्छ तर हामी पपुलिजमको भरमा कार्यकारीको समर्थनमा उभिरहेका छौँ, जुन हाम्रा लागि खतरनाक हो,’ उहाँले चेतावनी दिनुभयो।
उहाँले विभिन्न बहानामा सामाजिक सद्भाव खलल पार्ने, आर्थिक संरचना कमजोर पार्ने र राष्ट्रिय एकता भङ्ग गर्ने गतिविधिहरू बढ्दै गएको भन्दै बेलैमा सचेत हुन सबैलाई आग्रह गर्नुभयो।
दलहरूबिच कुनै दुबिधा नराखी संवैधानिक व्यवस्था र लोकतन्त्रलाई जोगाउनका लागि संसद् पुनःस्थापनाको एजेन्डामा एकजुट हुनुपर्नेमा समेत ज्ञवालीले जोड दिनुभयो।








प्रतिक्रिया