कुनै सम्झौता भएन भने चीनले १५५ प्रतिशत कर तिर्नुपर्नेछ : ट्रम्प

वासिङ्टन डीसी । अमेरिका र चीन बिच व्यापार सम्झौता भएन भने चीनले नोभेम्बर १ देखि १५५ प्रतिशत कर तिर्नुपर्ने हुन सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् । ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा यो कुरा  भनेका  हुन्।

ट्रम्पले भने, ‘मलाई लाग्छ चीनले हामीप्रति धेरै सम्मानजनक व्यवहार गरेको छ। उनीहरूले हामीलाई करमा धेरै पैसा तिरिरहेका छन्। उनीहरूले ५५ प्रतिशत कर तिरिरहेका छन्, जुन धेरै उच्च हो।’

धेरै  देशहरूले अमेरिकाको फाइदा उठाएको तर अब उनीहरूले यसो गर्न नसक्ने पनि उनले बताए ।  ‘चीनले ५५ प्रतिशत कर तिरिरहेको छ, र यदि हामी बिच कुनै सम्झौता भएन भने, नोभेम्बर १ देखि कर १५५ प्रतिशतमा बढ्न सक्छ’ चेतावनी दिँदै ट्रम्पले भने ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने कार्यक्रम रहेको  पनि उनले बताए।  आगामी हप्ताहरूमा दक्षिण कोरियामा बैठक हुने बताइएको छ । उनीहरूले अमेरिका र चीन दुवैको हितमा हुने समाधान खोज्ने ट्रम्प आशावादी देखिए ।

प्रकाशित मिति: ५ कार्तिक २०८२, मंगलबार  १२ : ३३  बजे