एमाले पुनर्गठन र रूपान्तरण अनिवार्य : ठाकुर गैरे

काठमाडौँ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य ठाकुर गैरेले पार्टी पुनर्गठन र रूपान्तरण अपरिहार्य आवश्यकता रहेको बताएका छन् । ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा शुक्रबार बोल्दै उनले पार्टी रूपान्तरणको मुद्दालाई नेतृत्वको विरोधको रूपमा नबुझ्न आग्रह गर्दै रूपान्तरण र पुनर्गठन जरुरी रहेको धारणा राखेका हुन् ।

‘पार्टी रूपान्तरण र पुनर्गठनको बहसमा खास नेताको विरोध र समर्थन मान्नु हुँदैन’, गैरेले धारणा राख्दै भनेका छन्– ‘रूपान्तरण भनेको सोच, कार्यशैली, एजेन्डा, कार्यक्रममा र समग्र पार्टी जीवनमा हुनुपर्छ ।’

उनले भदौ २३ र २४ को घटनामा तथ्य र वस्तुपरक ढङ्गले बहस गर्नुपर्ने भन्दै यथार्थमा उभिएर भोलि कसरी जाने भनेर निष्कर्ष निकाल्नुपर्ने बताएका छन् । उनले वामपन्थीहरूले कहाँ कहाँ सुधार गर्नुपर्ने हो त्यसबारे समेत समीक्षा हुन जरुरी रहेको धारणा राखेका छन् ।

‘हाम्रो वाम आन्दोलनमा कहाँ समस्या हो ?’, प्रश्न गर्दै गैरेले भनेका छन्– ‘हामीले ध्यान नपुर्‍याएका विषयहरू के हुन् ? संविधान संशोधनका कुरा गर्ने एजेन्डा तय नगर्ने, भ्रष्टाचार नियन्त्रणका कुरा गर्ने तर काम नगर्ने लगायतका कारण पैदा भएको असन्तुष्टिमा हाम्रो भूमिकाको समीक्षा गरौँ ।’  जेनजीका मुद्दा, चुनाव र संसद् पुनर्स्थापनालाई सँगसँगै लैजानुपर्ने गैरेको भनाइ छ ।

प्रकाशित मिति: १ कार्तिक २०८२, शुक्रबार  १४ : २०  बजे