प्रहरीलाई साधन, श्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीर छ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई पर्याप्त श्रोत, साधन उपलब्ध नभए आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउने कार्य प्रभावित हुनेमा सरकार सतर्क रहेको बताएका छन् । शुक्रवार ७० औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले प्रहरीलाई साधन, श्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्ने बताए ।

उनले सरकारले प्रहरीलाई श्रोत, साधन उपलब्ध गराउन तत्काल आवश्यक कदम अघि बढाउने बताए । नेपाल प्रहरी कानुन कार्यान्वयनमा अग्र पङ्क्तिमा रहने र सरकारप्रतिको धारणा र प्रतिक्रियामा समेत निशानामा पर्ने सङ्गठन रहेको बताए । गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिबिम्ब भएको अर्यालले जिकिर गरे ।

जेनजी आन्दोलनका क्रममा प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामानहरु पनि लुटपाट र आगजनी भएको र  श्रोत साधनको अभाव रहेको प्रहरी संगठनका साथै आम नागरिकमा समेत यसको प्रत्यक्ष प्रभाव परेको बताए ।

गृहमन्त्री अर्यालले बढ्दो प्रविधिसँगै नयाँ प्रकृतिका अपराधका गतिविधि मौलाएको बताए । यसले अपराध अनुसन्धान कार्य थप चुनौतिपूर्ण बन्दै गएको बताए । नेपाल प्रहरीलाई साधन, श्रोतले सुसज्जित बनाइ देश र नागरिक सुरक्षा सुदृढ बनाउनु गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको उनले बताए ।

प्रकाशित मिति: १ कार्तिक २०८२, शुक्रबार  १० : ५२  बजे