नेपाल ट्वान्टी–२० विश्वकपमा

काठमाडौं, २९ असोज ।  नेपाल लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ । ओमानसँग बुधबार ट्वान्टी–२० विश्वकप एसिया–इष्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स खेल खेल्नुअगाडि नै नेपाल र ओमान दुवैले ट्वान्टी–२० विश्वकप खेल्न छनौट भएका हुन ।ओमानको मस्कटमा भइरहेको प्रतियोगिताको बुधबारको दुवै खेलमा आफू अनुकूल नतिजा आएपछि नेपाल र ओमान ट्वान्टी–२० विश्वकपका लागि छनोट भएका हुन् ।दिनको खेलमा कतारले जापानलाई ३ विकेटले र यूएईले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपाल र ओमान लगातार दोस्रोपटक विश्वकपमा पुगेका हुन् । २०२३ मा काठमाडौंमा भएको एसिया छनोटको शीर्ष दुई स्थानमा रहँदै नेपाल र ओमान विश्वकपमा पुगेका थिए ।नेपाल लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा पुगेको हो । सन् २०१४ मा बंगलादेशबाट नेपालले ट्वान्टी–२० विश्वकपको ढोका खोलेको थियो । १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गर्नेक्रममा नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप खेलेको थियो । ट्वान्टी–२० विश्वकप २००७ देखि सुरु भएको हो । नेपालले २००७ देखि नै यसको छनोट खेल्दै आएको छ ।

फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा २० राष्ट्र सम्मिलित आईसीसी ट्वान्टी–२० विश्वकपको १० औं संस्करण आयोजना हुँदै छ । नेपाल र ओमान आउँदो संस्करणका लागि छनोट हुने क्रमशः १८ र १९ औं राष्ट्र हो । भारत र श्रीलंका आयोजक राष्ट्र भएका कारण ट्वान्टी–२० विश्वकपमा सोझै छनोट भएका हुन् ।

गत वर्षको ट्वान्टी–२० विश्वकपबाट अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिजले तथा आईसीसी वरीयताबाट आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तानले भारत र श्रीलंकामा हुने ग्लोबल इभेन्टमा आफ्नो स्थान सुरक्षित गरेका थिए ।

क्षेत्रीय छनोटमा अमेरिकी क्षेत्रबाट क्यानडा, युरोपबाट नेदरल्यान्ड्स र इटाली तथा अफ्रिकाबाट जिम्बावे र नामिबिया ट्वान्टी–२० विश्वकपमा पुगेका थिए । ओमानमा भइरहेको प्रतियोगिताले ट्वान्टी–२० विश्वकपमा पुग्ने थप एक टोलीको निर्क्यौल गर्नेछ । त्यसमा यूएई, सामोआ, कतार र जापानको सम्भावना रहेको छ ।

नेपालले शुक्रबार सामोआसँग सुपर सिक्सको अन्तिम खेल खेल्नेछ । नेपालले अन्तिम दुई खेलमा ओमान र सामोआलाई पराजित गरेमा नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इष्ट एसिया प्यासिफिक छनोटको उपाधि जित्ने छ ।

 

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार  २० : ०६  बजे