काठमाडौं, २९ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू प्रधानमन्त्री हुन र संसद् विघटन गर्न संविधानले नछेक्ने तर जेनजी युवाहरुको परिवर्तनको चाहना पूरा गर्न भने संविधान बाधक रहेको तथा नयाँ संसदबाट चुनिएर आउनुपर्ने प्रधानमन्त्री सुशीला कार्कीको तर्क हास्यास्पद रहेको बताएका छन् । थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्रको असफलताको कारण देश संकटमा परेको तर्क गर्दै अहिलेकै व्यवस्थालाई कायम राखेर निर्वाचन गर्नुको कुनै अर्थ नरहने बताए ।
जेनजी आन्दोलनले खोजेको परिवर्तनको चाहनालाई देशी विदेशी शक्तिहरूको साँठगाँठबाट तुहाइएको भन्दै थापाले आन्दोलन अधुरो भएको, आन्दोलनको अधुरो काम पूरा गर्न हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापना, प्रदेश संरचनाको खारेजी तथा सुशासनको मुद्दालाई लिएर पार्टी जनताको माझमा जानुपर्नेमा जोड दिए । पार्टीको पूर्वाञ्चल, मधेश र बागमती क्षेत्र समन्वय समितिका पदाधिकारी सदस्य, जिल्ला अध्यक्षहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले भ्रष्टाचार र कुशासनको अन्त्यका निमित्त भएको आन्दोलनले कांग्रेस र एमालेको गठबन्धन सरकारलाई विस्थापित गर्न सफल भए तापनि भ्रष्टाचार र कुशासनको मुख्य कारणको रुपमा रहेको निर्वाचन प्रणाली, शासकीय स्वरूप, प्रदेश संरचना परिवर्तन गर्न नसकेकोमा रोष प्रकट गरे ।
थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्रको असफलताको कारण देश संकटमा परेको भन्दै अहिलेकै व्यवस्थालाई कायम राखेर निर्वाचन गर्नुको कुनै अर्थ नरहने समेत स्पष्ट पारे । भर्चुअल बैठकका अधिकांश सहभागीहरूले पार्टी एकताको आवश्यकता र महत्व रहेता पनि पार्टीको मूलभूत आदर्श र मान्यतालाई कमजोर बनाउने गरी कसैसँग एकता र सहकार्य गर्न आवश्यक नरहेको, बरु आफ्नो सिद्धान्तप्रति निष्ठावान रही एक्लै अघि बढ्नु उपयुक्त हुने सुझाव दिएका थिए । भोलि पश्चिमाञ्चल, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमाञ्चलका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, विकास क्षेत्रीय अध्यक्षहरू र जिल्ला अध्यक्षहरूको भर्चुअल बैठक हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।








प्रतिक्रिया