कतारमाथि ५ रनको जितसँगै नेपाल टी–२० विश्वकप छनोटको नजिक

काठमाडौं, २८ असोज । टी–२० विश्वकप एशिया छनोटको सुपर ६ मा कतारलाई हराएसँगै नेपाल टी–ट्वान्टी विश्वकप नजिक पुगेको छ । हिजो भएको खेलमा नेपालले कतारलाई ५ रनले हरायो । नेपालले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा एक सय ४२ मा अल आउट भयो ।

सन्दीप लामिछानेले ३ ओभर ५ बल बलिङ गर्दा १८ रन खर्चेर ५ विकेट लिए । टी–२० अन्तर्राष्ट्रिय एकै खेलमा ५ विकेट लिएको सन्दीप लामिछानेको यो दोस्रो पटक हो । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो ।सुपर ६ मा नेपालको यो लगातार दोस्रो जित हो ।

पहिलो खेलमा नेपालले यूएईलाई १ रनले हराएको थियो । सुपर ६ मा नेपाल र ओमानको समान ६ अंक छ । नेपालले भोलि ओमानसँग खेल्नेछ । भोलिको खेल विश्वकप छनोटका लागि निर्णायक बन्नेछ । नेपालले अन्तिम खेल आउँदो शुक्रवार सामाओसँग खेल्नेछ ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार  ०७ : २६  बजे