काठमाडौं , २६ असोज । नेपाली सेनाले बेलायतमा आयोजित क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा स्वर्ण पदक जितेको छ ।
३ देखि १२ अक्टोबर २०२५ सम्म भएको उक्त अभ्यासमा नेपाली सेनाका मेजर कसम श्रेष्ठ र क्याप्टेन वीरेन्द्र मलासीको नेतृत्वमा १० सदस्यीय टोलीले उच्च अंक प्राप्त गरी स्वर्ण पदक जितेको हो । उक्त अभ्यासमा कुल ११७ टिम (३३ देशबाट ३५ अन्तर्राष्ट्रिय टिम समेत) सहभागी थिए । १० दिनसम्म ८ चरणमा विभाजित उक्त अभ्यासमा ४८ घण्टाभित्र हतियार तथा करिब ७० पौण्ड (३२ केजी तौल) बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित ६० किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ ।
अभ्यासमा सहभागी टोलीको लडाइ तयारी, खबर संकलन, घाइते–बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ । लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाहका अनुसार मानसिक र शारीरिक चुनौती सामना गर्नुपर्ने यो अभ्यास कठोर मानिन्छ ।
उनका अनुसार नेपाली सेनाले क्याम्ब्रियन पट्रोल एक्सरसाइजमा बर्सेनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । गत वर्ष पनि क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको थियो ।








प्रतिक्रिया